विराटनगर । विराटनगरमा यात्रुवाहक बसको ठक्करबाट एक वृद्धको ज्यान गएको छ । बुधबार दिउँसो करिब २ः५० बजे कोशी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका–४ पिपल चोकमा भएको सडक दुर्घटनामा विराटनगर–५ का ९२ वर्षीय दिलबहादुर खत्रीको मृत्यु भएको हो ।
मोरङ ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक राजन लम्सालका अनुसार विराटनगरबाट इटहरीतर्फ गइरहेको प्रदेश १–०१–००१ ख ४७०५ नम्बरको यात्रुवाहक बसले सडक पार गर्दै गरेका खत्रीलाई ठक्कर दिएको थियो । ठक्करपछि गम्भीर घाइते भएका खत्रीलाई तत्काल उपचारका लागि विराट नर्सिङ होम पुर्याइएको थियो ।
तर, अस्पताल पुर्याउनेबित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । दुर्घटनामा संलग्न बस र चालक पाँचथरको रानीगाउँ निवासी ४४ वर्षीय टेकबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार घटनाको विस्तृत अनुसन्धान जारी छ ।
प्रतिक्रिया