मेची राजमार्गको विकल्पमा जोगमाई खोलामा ‘डाइभर्सन’ निर्माण तीव्र

सोमबार, २७ असोज २०८२

इलाम । अविरल वर्षाका कारण मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडक खण्ड अवरुद्ध भएपछि वैकल्पिक रूपमा तिल्केनी–सिमलगोमा यातायात सञ्चालनको तयारी थालिएको छ । यसका लागि जोगमाई खोलामा अस्थायी ‘डाइभर्सन’ निर्माण कार्य तीव्र गतिमा भइरहेको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सुनिता नेपालले जानकारी दिएकी छन् ।

उनका अनुसार आइतबारदेखि नै सडक डिभिजन कार्यालय इलाममार्फत जोगमाई खोलामा ‘डाइभर्सन’ निर्माण कार्य सुरु गरिएको हो । माइजोगमाई गाउँपालिका–४ नामसालिङ र इलाम नगरपालिका–१० गोदक जोड्ने उक्त खोलामा १० वटा ह्युम पाइपमार्फत अस्थायी डाइभर्सन निर्माण कार्य भइरहेको छ । डाइभर्सन र त्यससँगै पहुँचमार्ग निर्माण कार्य आज साँझसम्म सक्ने योजना रहेको सडक डिभिजन कार्यालय इलामका डिभिजन प्रमुख पवन भट्टराईले बताएका छन् ।

गत असोज १८ गतेको भारी वर्षापछि आएको बाढीले गत असारमा निर्माण गरिएको बेलिब्रिज बगाएपछि यो सडक खण्डमा यातायात पूर्णरूपमा अवरुद्ध भएको थियो । उक्त सडकले इलाम सदरमुकामस्थित तिल्केनी क्षेत्रलाई मेची राजमार्गको गोदकसँग जोड्ने महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । प्रजिअ नेपालका अनुसार डाइभर्सन तयार भएपछि आजैदेखि साना सवारी सञ्चालन गर्ने तयारी भइरहेको छ । तत्कालका लागि आइतबारदेखि तिल्केनी–बज्रदेवी–नामसालिङ–नयाँबजार–फिक्कल मार्ग हुँदै साना सवारी सञ्चालनमा ल्याइएको छ ।

लगातारको अवरोधका कारण झापा, इलाम, पाँचथर र ताप्लेजुङ जाने यात्रु तथा सवारी आवागमनमा विगत १० दिनदेखि कठिनाइ भइरहेको छ । सडक डिभिजन प्रमुख भट्टराईका अनुसार “तिल्केनी–सिमलगोलाई जोड्ने सडकखण्डमा जोगमाई खोलामाथि ह्युम पाइप राखेर डाइभर्सन निर्माण आइतबारदेखि नै सुरु गरिएको हो । आजदेखि नै साना सवारी सञ्चालन गर्ने प्रयासमा छौँ,” भने ।

तर ठूला तथा मालवाहक सवारीका लागि भने अहिलेसम्म उपयुक्त वैकल्पिक मार्ग पहिचान गर्न नसकिएको प्रजिअ नेपालको भनाइ छ । तीव्र मोड र साँघुरोपनाका कारण ठूला सवारीका लागि उक्त मार्ग उपयोग गर्न कठिनाइ हुने अवस्था रहेको उनले बताएकी छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार