काठमाडौं : हमासको कब्जामा परेका नेपाली विद्यार्थी विपिन जोशीको मृत्यु भएको पुष्टि भएको छ। हमासको सैन्य शाखाले जोशीसहित चार जना बन्धकको शव इजरायललाई बुझाउने तयारी गरेको बीबीसीले जनाएको छ।
बीबीसीका अनुसार हमासले सार्वजनिक गरेको बन्धकहरूको सूचीमा इ इलौज, योस्सी शराबी, बिपिन जोशी र डानियल पेरेत्सका नाम रहेका छन्। ती चारै जनाको शव आजै इजरायल अधिकारीहरूलाई बुझाइने बताइएको छ।
हमासले आजै २० जना जीवित बन्धकहरूलाई रिहा गरेको जनाएको छ। हालसम्म मृत घोषित वा हराइरहेका बन्धकहरूको संख्या २८ जनासम्म पुग्ने अनुमान गरिएको छ।
सन् २०२३ को अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलको किबुज क्षेत्रमा आक्रमण गर्दा अध्ययनका लागि त्यहाँ पुगेका १६ जना नेपाली विद्यार्थी पनि प्रभावित भएका थिए। ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका ती विद्यार्थीहरू किबुज अलुमिम क्षेत्रमा बस्दै आएका थिए।
आक्रमणको भोलिपल्ट इजरायलस्थित नेपाली दूतावासले १० जना नेपाली विद्यार्थीको मृत्यु भएको पुष्टि गरेको थियो। त्यही समूहका सदस्य विपिन जोशीलाई हमासले बन्धक बनाएर गाजातर्फ लगेको थियो।
हमासले बन्धक बनाएपछि एक महिनापछि, सन् २०२३ नोभेम्बर १७ मा, विपिनलाई गाजाको अल शिफा अस्पतालमा देखिएको भिडियो सार्वजनिक भएको थियो। करिब ३३ सेकेन्डको उक्त भिडियोमै उनी अन्तिमपटक देखिएका थिए।
नेपाली सरकारका तर्फबाट विपिनको सकुशल उद्धारका लागि निरन्तर प्रयास भए पनि त्यसमा सफलता प्राप्त हुन सकेन । आज इजरायली अधिकारीहरूले उनको मृत्युको पुष्टि गरेका हुन्।
प्रतिक्रिया