विराटनगरमा तीन वर्षदेखि प्रहरीको गोदाममा थन्किएको तीन हजार किलो गाँजा जलाएर नष्ट

शनिबार, २७ मंसिर २०८२

विराटनगर : पछिल्ला तीन वर्षको अवधिमा विराटनगरका विभिन्न स्थानबाट बरामद गरिएको ठूलो परिमाणको गाँजा शनिबार विराटनगरमा आगो लगाएर नष्ट गरिएको छ । 

आर्थिक वर्ष २०७८–०७९ देखि चालु आर्थिक वर्ष २०८२–०८३ को हालसम्म इलाका प्रहरी कार्यालय रानी तथा त्यसअन्तर्गतका युनिटहरूले बरामद गरेको गाँजा एकै ठाउँमा संकलन गरी नष्ट गरिएको हो । प्रहरीका अनुसार विभिन्न समयमा लागूऔषध कारोबार नियन्त्रणका क्रममा बरामद गरिएको गाँजा मुद्दा प्रक्रियाका कारण लामो समयसम्म गोदाममा राखिएको थियो । 

अदालतको आदेश र आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि शनिबार दिउँसो विराटनगर महानगरपालिका–१६ स्थित दरैयामा आगो लगाएर गाँजा नष्ट गरिएको प्रहरीले जनाएको छ । नष्ट गरिएको गाँजा तीन हजार किलो रहेको प्रहरीको भनाइ छ ।

इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर कविन राईले पूर्ण रूपमा कानुनअनुसार गाँजा नष्ट गरिएको बताए । जिल्ला अदालत मोरङका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि तथा प्रहरी अधिकारीहरूको उपस्थितिमा गाँजा जलाएर नष्ट गरिएको छ। ‘लामो समयदेखि संकलन भएर राखिएको गाँजा आज एकमुष्ट रूपमा नष्ट गरिएको हो । यसले अवैध लागुऔषधको जोखिम कम गर्न मद्दत पुग्नेछ,’ उनले भने ।

प्रहरी स्रोतका अनुसार गाँजा नष्ट गर्नुअघि त्यसको परिमाण र बरामद मितिसमेतको विवरण मिलान गरिएको थियो । अदालतबाट स्वीकृति प्राप्त भएपछि मात्रै नष्ट गर्ने प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइ छ ।

यसरी ठूलो परिमाणमा गाँजा नष्ट गर्नुले लागूऔषध नियन्त्रणमा प्रहरीको सक्रियता देखिएको पनि स्थानीय जनप्रतिनिधिहरूले बताएका छन् । मोरङ जिल्ला लागुऔषधको ओसारपसार र कारोबारका दृष्टिले संवेदनशील मानिँदै आएको छ । 

खुला सीमाना र राजमार्ग नजिकका क्षेत्र प्रयोग गरेर गाँजा तथा अन्य लागुऔषध ओसारपसार हुने गरेको छ । यही कारण पछिल्ला वर्षहरूमा इलाका प्रहरी कार्यालय रानीसहित प्रहरीका विभिन्न युटिनहरुल्े लागुऔषध नियन्त्रण अभियानलाई प्राथमिकतामा राख्दै आएका छन् ।

प्रहरीले लागुऔषध कारोबारविरुद्ध कडाइ गर्ने र बरामद भएका लागुऔषध कानुनी प्रक्रिया पूरा गरेर नष्ट गरिने जनाएको छ । गाँजा नष्ट गरिनुलाई लागुऔषध नियन्त्रणतर्फको महत्वपूर्ण कदमका रूपमा लिइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार