विराटनगर । मोरङ र उदयपुरमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मोटरसाइकल र स्कुटर दुर्घटना भएको हो ।
मोरङको रतुवामाई नगरपालिका–६ कादुपाडास्थित आमबारी–उर्लाबारी सडक खण्डमा दुर्घटना हुँदा महिलाको मृत्यु भएको छ । कादुपाडाबाट रंगेलीतर्फ जाँदै गरेको प्रदेश १–०२–०४९ प ७५५४ नम्बरको स्कुटरको टायर पड्किएर शुक्रबार दुर्घटना भएको हो ।
दुर्घटनामा परेर स्कुटरको पछाडि सवार रतुवामाई–६ की ५६ वर्षीय विष्णुकुमारी खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गम्भीर घाइते भएकी उनको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा शनिबार बिहानका राति मृत्यु भएको हो ।
स्कुटर विष्णकुमारीकै पति (श्रीमान) ६० वर्षीय भवानी बस्नेतले चलाएका थिए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, उदयपुरको बेलका नगरपालिका–९ मा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुद्धचोकबाट रामपुरतर्फ जाँदै गरेको प्रदेश १–०५–००१ प १९९३ नम्बरको मोटरसाइकल कल्भर्टको पिलरमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक बेलका–६ का ४५ वर्षीय नवीन राईको मृत्यु भएको प्रहरीले जनाएको छ । राईको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा परेर मृत्यु भएको अवस्थामा शनिबार बिहान उनको शव फेला परेको थियो । स्थानीयले जानकारी गराएपछि प्रहरीले घटनाको जानकारी पाएको थियो । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया