सेप्टिक ट्याङ्कीमा निसासिँदा पाँचथरमा एक मजदुरको ज्यान गयो, तीन जना घाइते

बुधबार, ३२ असार २०८२

पाँचथर : पाँचथरको फाल्गुनन्द गाउँपालिका ५ स्थित घुर्विसेमा निर्माणाधीन सहकारी भवनको सेप्टिक ट्याङ्कीमा निसासिएर एक मजदुरको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् ।

बुधबार साँझ करिब साढे पाँच बजे ट्याङ्कीको सर्टिङ खोल्ने क्रममा निसासिएर ३८ वर्षीय रत्न चेम्जोङको ज्यान गएको हो। सेप्टिक ट्याङ्की ढलाइका बेला प्रयोग गरिएका काठ तथा बाँस झिक्न ट्याङ्कीभित्र पसेका रत्न अक्सिजनको मात्रा कम हुँदा बेहोस भएको अवस्थामा फेला परेका थिए । इलाम अस्पतालमा उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार घटनामा थप तीन जना मजदुर २४ वर्षीय भिष्म चेम्जोङ, ४० वर्षीय बिरु चेम्जोङ र ३० वर्षीय संगीत चेम्जोङ घाइते भएका छन्। उनीहरूलाई सुरक्षाकर्मी र स्थानीयको सहयोगमा उद्धार गरेर उपचारका लागि इलाम अस्पताल लगिएको हो। संगीत भने उद्धारको क्रममा बेहोस भएपनि केही समयमै होश खुलेको बताइएको छ।

घटनाबारे जानकारी पाएपछि प्रहरी चौकी फाक्तेपबाट प्रहरी सहायक निरीक्षक शेरबहादुर राईको टोली घटनास्थल पुगेको थियो। राईका अनुसार करिब १० मिटर गहिराइको ट्याङ्कीभित्र अक्सिजनको मात्रा निकै कम हुँदा चारै जना निसासिएका हुन्। सुरुवातमा स्थानीय र सुरक्षाकर्मीले प्रयास गरे पनि सफल नभएपछि स्काभेटर प्रयोग गरी बाटो खनेर उद्धार गरिएको हो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार