धरान : धरान–८ स्थित अरुणटोलको सुकुम्बासी बस्तीमा एउटा सानो झुपडीभित्र ४० वर्षीय रोशन राई जीवन र मृत्युबीच झुण्डिएर बाँचेका छन्। फुलिएको पेट, हाडछालामा बदलिएको शरीर र मलिन अनुहारसहित उनी ओछ्यानबाट उठ्न सक्दैनन्। चिकित्सकका अनुसार उनको कलेजो पूरै क्षतिग्रस्त भइसकेको छ। बाँच्न चाहन्छन् रोशन – तर अस्पतालसम्म पुग्ने साधन छैन, साथमा जीवन बाँच्ने सुनिश्चितता पनि छैन।
केही महिना अघि मात्रै उनी चारकोशे झाडीबाट दाउरा बोकेर धरान बजारसम्म बेच्न जान्थे। दैनिक दाउराको कमाइमै उनको जीवन चल्थ्यो – श्रीमती शान्ति तामाङको साथ र छोरी शिवानीको पढाइ पनि यहीमा भर थियो। तर बैशाखदेखि जण्डिसले सताउन थालेपछि रोगहरू एकपछि अर्को गर्दै च्यापिँदै गएका छन्। मृगौलामा पथरी, कलेजोमा क्षति र अहिले लिभर प्रत्यारोपणको सिफारिस भएपछि उनी अस्पताल जानेभन्दा पनि झुपडीमै ओछ्यान टेक्न विवश छन्।
“डाक्टरले लिभर फेर्नुपर्छ भन्नुभएको छ, १५ लाख लाग्छ रे,” श्रीमती शान्ति बिलौना गर्छिन्, “औषधीका लागि पनि पैसा छैन, अहिले त लिभरको ट्याब्लेट मात्रै खुवाएका छौं। सधैं रोइरहन्छु, श्रीमानलाई हेरेर। छोरीको पढाइ पनि छोडिने भयो।”
उनकी छोरी शिवानी राई ११ कक्षामा पढ्दै थिइन्। अहिले बाबुको स्याहारमा लागेर उनले कक्षा छुटाउन थालेकी छन्।
बाबा बाँच्नुभयो भने फेरि हामी दाउरा बेचेर भए पनि गुजारा चलाउँछौं ।
शिवानी भन्छिन्।
गत मंगलबार मजदुर नेता भीमज्वाला राई रोशनको झुपडीमा पुगे। अवस्थाबारे जानकारी लिएपछि उनले नेपाल यातायात स्वतन्त्र मजदुर संगठनमार्फत सहयोग अभियान सुरु गर्ने घोषणा गरे। “यो सामान्य बिरामी होइन, जीवनको लडाइँ हो,” नेता राईले भने, “सघाउने मन भएकाहरूले सिधै पीडित परिवारसँग सम्पर्क गरेर पनि सहयोग गर्न सक्नुहुन्छ। शान्ति तामाङको सम्पर्क नम्बर ९७०८२५५३११ हो।”
आज रोशन झुपडीभित्र ओछ्यानमा छन्, आँखामा झिनो आशाको झिल्को बोकेर। यो पीडा एक व्यक्तिको मात्रै होइन, एक मेहनती परिवारको जीवन संघर्षको कथा हो, जसले समाजको माया खोजिरहेको छ।
प्रतिक्रिया