आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना,सतर्क रहन महाशाखाको अनुरोध

बुधबार, ३२ असार २०८२

काठमाडौँ : हाल देशभर सक्रिय मनसुनका कारण पाँच प्रदेशमा आज भारीदेखि अत्यधिक वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

विशेषगरी कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा दिनभर मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले सोमबार बिहान ६ बजे जारी बुलेटिनमार्फत जानकारी गराएको हो।

कोशी प्रदेशको केही स्थानमा अत्यधिक वर्षा हुन सक्ने सम्भावना औँल्याउँदै महाशाखाले मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने चेतावनी दिएको छ। साथै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम वर्षा र हिमपातसमेत हुने देखिएको छ।

दिउँसोको मौसम प्रक्षेपण अनुसार देशभर साधरणतया बदली रहनेछ भने तराईका केही क्षेत्रमा हुरीसमेत चल्न सक्ने सम्भावना रहेको छ। रातिको समयमा पनि कोशी, मधेस, सुदूरपश्चिम लगायत पहाडी भूभागका केही स्थानमा वर्षा हुने पूर्वानुमान गरिएको छ।

महाशाखाले सम्भावित भारी वर्षाका कारण बाढी, पहिरो तथा गेग्र्यान बहावको जोखिम बढ्ने भन्दै विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। तराई तथा शहरी क्षेत्रहरूमा डुबानको सम्भावना रहेको जनाउँदै प्रभावित हुनसक्ने दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, यातायात लगायत क्षेत्रमा पूर्वतयारी र सतर्कता अपनाउन सबैलाई आग्रह गरिएको छ।

महाशाखाले विशेष गरी खोला, नदी तथा भू–स्खलन सम्भावित क्षेत्रको आसपासका बासिन्दालाई सतर्क रहन र स्थानीय प्रशासनको सूचनालाई पालना गर्न पनि अनुरोध गरेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार