धरान : सुनसरी उद्योग वाणिज्य संघको निर्वाचनमा ९५८ मतको फराकिलो अन्तरले विजय भएका गोपाल श्रेष्ठ अब नेतृत्व समाल्नका लागि तयार भएका छन् । २०२३ साल भदौ १६ गते धरानमा जन्मिएका उनी आफ्ना प्रतिस्पर्धी शिवराज श्रेष्ठलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।
जितसँगै उनले भने, यो जित मेरो मात्र होइन, सम्पूर्ण व्यवसायी समुदायको हो । यो विश्वासको जित हो ।’ श्रेष्ठको विजयसँगै व्यापारिक राजधानीको रूपमा चिनिएको धरानमा फेरि व्यापारिक पुनर्जागरणको आशा पलाएको छ । खस्कँदो साखलाई पुरानै गतिको व्यापारिक इमेजमा फर्काउने सपना बोकेर उनी अगाडि बढेका छन् ।
तीन दशकको अनुभव, व्यापारिक यात्राबाट नेतृत्वसम्म
व्यावसायिक यात्रा उनले अरुण पेट्रोलियम ट्रेडिङ सेन्टरबाट सुरु गरेका थिए । त्यसपछि धरान प्रिन्टिङ प्रेस, अपुश्री इन्टरप्राइजेज, रामपुर आयल सेन्टर, नेपाल फ्युल सेन्टर र विष्णु ढुवानी प्रा.लि. हुँदै उनले आफ्नो व्यावसायिक पाइलाहरू फराकिलो बनाउँदै लगे ।
श्रेष्ठ २०४७ सालमा पहिलो पटक संघको सदस्य बनेका गोपाल त्यसयता उनी कार्यकारिणी सदस्य, उद्योग सचिव, सल्लाहकार, कोषाध्यक्ष, प्रथम उपाध्यक्ष हुँदै अहिले अध्यक्ष पदमा पुगेका छन् । संघभित्रको उनको सक्रियता स्पष्ट सोच, निरन्तरता र सेवा भावले भरिएको देखिन्छ ।
उनी नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका केन्द्रीय सदस्य, पूर्वाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष, कोशी पेट्रोलियम डिलर्स एसोसिएसनका कोषाध्यक्ष, आसरा सुधार केन्द्रका सञ्चालक सदस्य, सुनसरी जिल्ला गल्फ संघका कार्यसमिति सदस्य, साथै नेवाः देय् दबू धरानका सल्लाहकारसमेत छन् ।
सस्तो बजारदेखि कोसेली घरसम्म : व्यावसायिक हबको सपना
श्रेष्ठले धरानलाई कोशी प्रदेशकै प्रमुख ‘व्यावसायिक हब’ बनाउने दाबी गरेका छन् । ‘हामी धरानको पुरानै व्यावसायिक साख फर्काउने अभियानमा छौँ ।’ उनले भने ।
सस्तो बजारको अवधारणा, थोक व्यापारीहरूको आकर्षण, ठूला उद्योगका बिक्री कक्ष स्थापना र स्थानीय उत्पादन प्रवद्र्धनका लागि ‘कोसेली घर’ निर्माणलाई प्राथमिकतामा राखेको श्रेष्ठले बताए । यस्तै, उनले धरान–लेउती सुरुङ मार्गजस्ता दीर्घकालीन पूर्वाधार योजनामा सरकारसँग गम्भीर समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
संघको पूर्ण डिजिटल रूपान्तरण : व्यवसायीका लागि एपमार्फत सेवा
श्रेष्ठको नेतृत्वमा संघको सूचना प्रणालीलाई पूर्ण रूपमा डिजिटल बनाइने उनको भनाई । सदस्यता नवीकरण अब मोबाइल एपमार्फत सहज रूपमा गर्न सकिनेछ । उनले भने,‘व्यवसायीहरू आफ्ना विवरणहरू अद्यावधिक गर्न, बिमा सेवा लिन र अन्य सूचना प्राप्त गर्न मोबाइलबाटै सक्षम हुनेछन् । हामी संघको सूचना प्रणालीलाई प्रभावकारी रूपमा डिजिटल बनाउनेछौ ।’
कर नीति, तालिम, बैठक, सूचना आदिलाई तत्काल व्यवसायीहरूसम्म पु¥याउने प्रबन्ध मिलाइने श्रेष्ठको भनाई छ । उनले व्यवसाय बिमा प्रणालीलाई पनि डिजिटल माध्यममार्फत रूपान्तरण गर्ने जानकारी दिए । बिमा नवीकरणदेखि दाबी प्रक्रिया अब एपमार्फत हुने भएको छ । साउन महिनाबाटै नयाँ प्रणाली लागू गर्ने तयारीमा छौ । श्रेष्ठले भने जति सक्दो चाँडो हामी यो प्रणाली लागु गर्छौँ ।
श्रेष्ठले व्यवसायीको सुरक्षाका लागि सामूहिक बिमा, राहत कोष र सुरक्षा निकायसँग समन्वय गर्ने बताएका छन् । धरानका होटेल र रेस्टुरेन्ट राति १२ बजेसम्म सञ्चालन गर्न दिने वातावरण बनाउन प्रहरी प्रशासनसँग पहल गरिने उनको योजना छ ।
संघको नेतृत्वमा बस्ने व्यक्ति बढी संवेदनशील, दूरदर्शी र संयमी हुनु आवश्यक हुन्छ । उनले भने,‘मेरो तीन दशक लामो अनुभव र हाम्रो समूहको सामूहिक चेतनालाई संस्थागत बनाउँदै व्यवसायीहरूको आवाजलाई मजबुत बनाउने प्रयासमा छु ।’
प्रतिक्रिया