काठमाडौं । जापानमा लामो समय ‘सेफ’ रहेका अन्तरराष्ट्रिय सेफ घनश्याम कँडेल नेपाली खाना विश्वका विभिन्न मुलुकमा प्रर्वद्धनमा क्रियाशील छन् । उनी नेपाली खानाको विश्वव्यापी प्रर्वद्धन अभियानमा लागेका हुन् ।
बागलुङको काठेखोला–६ का कँडेल कुनै समय जापानमा नेपाली परिकारको प्रर्वद्धनमा लागेका थिए । जापानको अनुभव अहिले विश्वका विभिन्न देशमा नेपाली खानाको प्रर्वद्धनमा उहाँ जुटिरहेका छन् । भारत, जापान, अमेरिका, क्यानडा तथा अन्य मुलुकको भ्रमण गरी नेपाली खानाको प्रचार अभियानमा सक्रिय छन् ।
सेफ कँडेलले हालै पाककलासम्बन्धी विश्वस्तरीय पुस्तक ‘टिमुर’ प्रकाशन गर्नुभएको छ । अर्का सेफ दुर्गा खड्कासँगको सहलेखनमा उनको भोजनलिपि ‘कुकबुक’ प्रकाशोन्मुख छ । उनले स्वदेश तथा विदेशमा गरी ४० भन्दाबढी रेस्टुराँमा सयौँ सेफलाई आफ्नो ज्ञान तथा सीप सिकाएका छन् । उनी पुस्तक लेखन र कार्यक्रममार्फत हजारौँलाई पाककलाको ज्ञान बाँड्ने अभियानमा छन् ।
सेफ कँडेल र खड्काको पाककलामा आधारित भोजनलिपि अभियानअन्तर्गत अहिले देशका विभिन्न जिल्लाबाट नेपाली खाना सङ्कलन गरी व्यावसायिक प्रर्वद्धनमा जुटेका छन् । पाककलामा नाम कमाएका गोविन्द नरसिंह केसी, गणेश ढकाल, लक्ष्मणप्रसाद भण्डारी, शिवहरि घिमिरे र नयाँपुस्ताका पूर्ण श्रेष्ठ, अजुवी चाम्लिङ, इङ्वा सुब्बालगायत विभिन्न सेफहरुसँगको अनुभव आदानप्रदानले पनि भोजनलिपि स्वाद कार्यक्रमलाई थप प्रभावकारी बनाएको छ । उनीहरुसँगको सहकार्यले नेपाली खाना प्रर्वद्धन अभियानले छोटो समयमै राष्ट्रिय तथा अन्तरराष्ट्रिय रुपमा ख्याति कमाएको छ ।
विगत १८ वर्षको दौरानमा जापानमै मात्र आधा दर्जनभन्दा बढी रेस्टुराँ सञ्चालन गरी यस क्षेत्रको उच्च अनुभव उनले सँगालेका छन् । जापानिज, इण्डियन, थाइ र नेपाली परिकारलाई फ्यूजन गरी परम्परागत परिकारलाई आधुनिक शैलीमा नवीन एवं सृजनात्मक ढङ्गले प्रस्तुत गर्दै तिनीहरूको मौलिकता कायम राख्न पनि उहाँ खप्पिस छन् ।
भोजन लिपि स्वादको चौथो संस्करण असार १५ गते
अन्तरराष्ट्रिय सेफ घनश्याम कँडेल र दुर्गा खड्काको पाककलामा आधारित भोजनलिपि स्वादको चौथो संस्करण आगामी असार १५ गते काठमाडौँमा हुने भएको छ । राष्ट्रिय धान दिवसको अवसर पारेर कार्यक्रम गर्न लागिएको नेपाली खाना प्रर्वद्धनमा अभियानले जनाएको छ । कार्यक्रम धान-चामल र दुग्धजन्य पदार्थका परिकारको प्रर्वद्धनमा आधारित रहने अभियानका संयोजक देवीप्रसाद सापकोटाले जानकारी दिएका हुन् । चौथो संस्करणमा मोही, मह, गाईको घ्यू, तोरीको तेल, नेपाली कफीलगायत मौसमी कृषिउपजको पनि प्रर्वद्धन गरिनेछ ।
अभियानले यसअघि यही जेठ १८ गते काठमाडौंमा तेस्रो संस्करण सम्पन्न गरिसकेको छ । नेपाली साङ्गीतिक धुनसहित प्रस्तुत संस्करणमा खानाका विभिन्न २५ परिकार राखिएको थियो । भोजनलिपि स्वादमा अधिकांश नेपाली कृषिउपजबाट बनेका परिकार राखिएका थिए । मोही, कोदो, मकै, फापर सिस्नो, कटहर, च्याउका परिकार राखिएको थियो । बेलको सर्वत, निगुरो, खुवा, पान-लड्डुबाट बनेका परिकार पाककलाका विशेष आकर्षण थिए ।
भोजनलिपि स्वादका सर्जक कँडेलले नेपाली खानालाई नेपाली संस्कृति र आध्यात्मिक पक्षसँग पनि जोडेर लैजान उपयुक्त हुने बताउछन् । आजको संसारमा मानिसले स्वादका अतिरिक्त जीवन पनि खोजिरहेको उल्लेख गर्दै उनले नेपाली खानाले संसारलाई एउटा अमूल्य औषधिरुपी उपहार पनि दिनसक्ने विचार व्यक्त गर्छन् ।
नेपाली खाना प्रर्वद्धन अभियानको संयोजनमा हुँदै आएको भोजनलिपि स्वाद स्वदेश तथा विदेशमा गरी १०० भाग सञ्चालन गरिने अभियानका संयोजक सापकोटाले जानकारी दिए । नेपाली खानालाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा पुर्याउन यो अभियान थालिएको हो ।
हालसम्म झापा, इलाम, पाँचथर, दोलखा, धनुषा, चितवन, नवलपरासी, कास्की म्याग्दी बागलुङ, रोल्पा, जुम्लालगायत ३५ जिल्लामा परिकार प्रस्तुत गरिसकिएको छ । काठमाडौँ बाहिर सातै प्रदेशका राजधानीलगायत मुख्य सहरमा पनि अभियान चाँडै सुरु गरिने भएको छ ।
प्रतिक्रिया