झापा : सुनसरीको झुम्का कारागारबाट फरार भएका कैदी रूपक पौडेललाई प्रहरीले झापाबाट पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार खोटाङ दिप्रुङचुचुम्मा गाउँपालिका–२ का २८ वर्षीय पौडेललाई बिर्तामोड नगरपालिका–१० विराट पोखरी नजिकबाट शनिवार बिहान करिब ६ बजे नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्र खडकाले प्रदेश खबरलाई बताए ।
जबरजस्ती करणी (सामूहिक बलात्कार) घटनामा संलग्न रहको ठहर गर्दै सुनसरी जिल्ला अदालतबाट १३ वर्ष कैद, ५ लाख रुपैयाँ जरिवाना र ३० हजार रुपैयाँ क्षतिपूर्तिको सजाय पाएका पौडेल २०८२ साउन २८ गते बिहान कारागारको पर्खाल नाघी फरार भएका थिए।
फरार रहेका पौडेललाई प्रहरी टोलीले लुकिछिपी बसिरहेको अवस्थामा समातेको हो।
पक्राउ परेका उनलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी पठाउने तयारी भइरहेको झापा प्रहरीले जनाएको छ।
साउन २८ गते बिहान खत्री कारागारको ‘बी’ ब्लकबाट फरार भएका थिए। कारागारको मुढा बनाउने उद्योगको छानामाथि चढेर उनले करिब १० फिट लामो सिडी तयार पारेका थिए।
सोही सिडीको सहायताले करिब २० फिट अग्लो पर्खाल नाघेर बिहान करिब २ बजे उनी कारागार बाहिर भागेका थिए।
छानबिन समिति गठन
कैदी फरार भएको घटनामा सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठको संयोजकत्वमा यसअघि पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ।
समितिले कारागारमा सशस्त्र प्रहरी, जनपद प्रहरी, जेलर, कारागार प्रशासन र अन्य कर्मचारीहरूसँग बयान लिई प्रतिवेदन तयार गर्ने जनाएको छ।
प्रतिक्रिया