इटहरी । सुनसरीको रामधुनी नगरपालिकामा खसी चोरीको प्रयासका क्रममा खुकुरी प्रहारबाट एक जनाको मृत्यु भएको छ।
सोमबार बिहान करिब २ः३० बजेको समयमा रामधुनी–२ शिवनगरस्थित सन्तोष चौधरीको घरबाट खसी र पाठो चोरी गर्न खोज्ने क्रममा रामधुनी–४ लालपुरका ४२ वर्षीय राकेश चौधरी घाइते भएका थिए। घरधनीले खसी चोरी भइरहेको देखेपछि होहल्ला गरेका थिए । होहल्ला पछि चोरीमा संलग्न चौधरी भागेका थिए । भागेका चौधरीलाई खेदाउँदै घरधनीले खुकुरी प्रहार गर्दा खुकुरीले दाहिने हातको नाडीमा लागेको थियो।
घाइतेलाई सुरुमा झुम्कास्थित साई अस्पतालमा लगिएको थियो भने अवस्था गम्भीर भएपछि उनलाई थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल पठाइएको थियो। तर बिहान ५ः१५ बजे उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि खुकुरी प्रहार गर्ने घरधनी सन्तोष चौधरी र प्रयोग गरिएको खुकुरी नियन्त्रणमा लिएर अनुसन्धानका लागि प्रहरी कार्यालय रामधुनीमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया