इटहरी । इटहरी उप–महानगरपालिका–१ मा अवस्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयले शुक्रबार शिक्षक अभिभावक संघ र आमा समूहका नव–निर्वाचित पदाधिकारीलाई स्वागत तथा सम्मान गरेको छ। कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष कोविदजंग कार्की र प्रधानाध्यापक सरनकुमार बस्नेतले दुवै समूहका पदाधिकारीलाई स्वागत गरेका थिए।
शिक्षक अभिभावक संघमा सानुराम गौतमको नेतृत्वमा ११ सदस्यीय समिति चयन भएको छ भने आमा समूहमा मुक्तामणि डागी नेतृत्वमा नयाँ समिति गठन भएको हो। दुवै समिति दुई वर्षे कार्यकालका लागि चयन भएका हुन्। कार्यक्रममा अघिल्लो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेका निवर्तमान पदाधिकारीलाई पनि विदाई गरियो।
अध्यक्ष कार्कीले विद्यालयको शैक्षिक विकासमा समाजका सबै क्षेत्रका अग्रणी व्यक्तिहरूको महत्वपूर्ण योगदान हुने उल्लेख गर्दै सहकार्यको आवश्यकता औंल्याए। सहायक प्रधानाध्यापक यमूना बस्नेतले स्वागत मन्तव्य राखेकी थिइन्।
सोही अवसरमा विद्यालयले आर्थिक वर्ष २०८२–८३ का लागि दुरदृष्टिसहित वार्षिक नीति तथा कार्यक्रम पनि सार्वजनिक गरेको छ। प्रधानाध्यापक बस्नेतले आयतर्फ अनुमानित १३ करोड २ लाख २२ हजार २४७ रुपैयाँ र खर्चतर्फ १२ करोड ८७ लाख ५१ हजार ३८२ रुपैयाँको विवरण प्रस्तुत गरे। अघिल्लो वर्षदेखि विद्यालयले वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्ने परम्परा सुरु गरेको हो।
सहायक प्रधानाध्यापक लक्ष्मी सुवेदीका अनुसार यस वर्षको ६३ बुँदे वार्षिक नीति तथा कार्यक्रममा भौतिक पूर्वाधार निर्माण, मानव संसाधन विकास, शैक्षिक गुणस्तर वृद्धि, सूचना प्रणाली सुदृढीकरण लगायतका क्षेत्र समेटिएका छन्। विद्यालयमा हाल बालविकासदेखि कक्षा १२ सम्मको शैक्षिक कार्यक्रम सञ्चालन हुँदै आएको छ।
प्रतिक्रिया