समयमै आयोजना सम्पन्न गर्न मन्त्री खड्काको निर्देशन, निजी लगानीकर्तासँग सहकार्य बढाउने तयारी

शुक्रबार, ३० साउन २०८२

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले मन्त्रालयका आगामी योजना सफलतापूर्वक कार्यान्वयन गर्न सकारात्मक दृष्टिकोण अपनाउन र ठूला आयोजनाहरूलाई तिव्र गतिमा अघि बढाउन निर्देशन दिएका छन्।

शुक्रबार मन्त्रालयमा आयोजित “आर्थिक वर्ष २०८१/०८२ को चौथो त्रैमासिक एवं वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति बैठक” मा मन्त्री खड्काले ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय देशको उत्पादन, रोजगारी र आर्थिक मुनाफासँग प्रत्यक्ष रूपमा जोडिएको मन्त्रालय भएको उल्लेख गर्दै, समयमै आयोजना सम्पन्न नगर्दा लागत वृद्धि र ढिलासुस्तीको असर पर्न सक्ने चेतावनी दिए।

उहाँले जलाशययुक्त ठूला आयोजना निर्माणका चुनौतीबीच पनि सरकारले तीन–चार ठूला आयोजना अघि बढाउने योजना बनाएको बताउँदै, यसका लागि निजी क्षेत्रको लगानी र व्यवस्थापनलाई प्राथमिकतामा राखिने स्पष्ट गरे। साथै, सरकारी अधिकारीहरूलाई आफ्नो जिम्मेवारी ईमानदारीपूर्वक पूरा गर्न आह्वान गर्दै, कानूनी जटिलताहरू समाधान नगरे काममा अवरोध आउने भएकाले शीघ्र समाधानको आवश्यकता औंल्याए।

मन्त्री खड्काले विगतका कमजोरीबाट सिकेर जिम्मेवारीपूर्ण ढंगले अघि बढ्ने प्रतिबद्धता जनाउँदै, “ठूला आयोजना सुरू गर्ने, सिंचाई सेवा कम्पनीका रूपमा विस्तार गर्ने र उत्पादनमा आत्मनिर्भरता हासिल गर्न काम गरिनेछ,” भने।

बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य प्रा. डा. आर.पी. विच्छाले विगतका कमजोरीहरूलाई सम्बोधन गर्दै १६औं पञ्चवर्षीय योजनासँग मेल खाने वार्षिक नीति तथा कार्यक्रम तयार गर्नुपर्नेमा जोड दिए।

जलस्रोत तथा सिंचाई सचिव सरीता दवाडीले अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगबाट सहयोग भए पनि वन तथा जग्गा प्राप्तिमा समस्या हुँदा आयोजना निर्माणमा ढिलाइ भएको बताइन्। जल तथा ऊर्जा आयोग सचिवालयका सचिव दिनानाथ मिश्रले तयारी विना बजेट विनियोजन हुँदा खर्च हुन नसकेको र प्रगति न्यून देखिएको उल्लेख गरे।

अर्थ मन्त्रालयका प्रतिनिधिले ऊर्जा र जलस्रोत क्षेत्रको विकासका लागि आवश्यक बजेट विनियोजनमा मन्त्रालय सधैं सकारात्मक रहेको स्पष्ट पारे।

बैठकमा विद्युत विकास विभागका महानिर्देशक जीवछ मण्डल, जलस्रोत तथा सिंचाई विभागका महानिर्देशक मित्र बराल, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालसहित विभिन्न कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले आयोजना निर्माणका क्रममा भोग्नु परेको समस्या र अनुभवहरू प्रस्तुत गरेका थिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार