इटहरी : जेन जी आन्दोलनका क्रममा गोली लागी घाइते भएका बुढिगंगा मोरङ घर भएका शान्तनु ढकाललाई पूर्व सांसद अशोक कुमार चौधरीले मंगलबार घरमै पुगेर भेट गरेका छन्।
ढकालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएर उनले शीघ्र स्वास्थ्यलाभको शुभकामना व्यक्त गर्दै आन्दोलनमा युवाहरूको साहस र समर्पण प्रशंसनीय रहेको बताए।
“शान्तनु ढकालको स्वास्थ्यमा सुधार हुँदै गएको देख्दा निकै खुसी लागेको छ। देश परिवर्तनको आन्दोलनमा होमिने युवाहरूको यो आत्मबल हामी सबैका लागि प्रेरणादायी हो,” चौधरीले भने।
उनले आन्दोलनमा सहभागिता जनाएका युवाहरूको योगदान ऐतिहासिक रहेको उल्लेख गर्दै सरकारले सबै घाइतेहरूलाई विशेष प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे।
ढकालले पनि चौधरीप्रति आभार व्यक्त गर्दै भने, “मेरो स्वास्थ्यबारे चासो देखाउन आइदिनुभएकोमा मनदेखि आभारी छु।
तपाईँहरूको माया र साथले मलाई छिट्टै निको हुन प्रेरणा दिएको छ।” परिवारका अनुसार ढकाल हाल घरमै उपचाररत छन् र उनको स्वास्थ्यमा क्रमशः सुधार भइरहेको छ। यसअघि अर्थमन्त्री रामेश्वर खनाल पनि उनलाई भेट्न घरनै पुगेका थिए।
तर, स्थानीयहरूको भनाइमा राजधानीका घाइतेहरूलाई मात्रै प्राथमिकता दिइँदा बाहिरका जिल्लाका पीडितहरू बेवास्तामा परेका छन्।
इटहरीलगायत प्रदेशका विभिन्न भागमा आन्दोलनका क्रममा घाइते भएका नागरिकहरू अझै राहत र उपचार सहयोगको प्रतीक्षामा छन्।
गृह मन्त्रालयले घाइतेहरूको परिचयपत्र वितरण र २० हजार रुपैयाँ राहत रकम स्वीकृत गरे पनि धेरैले रकम पाउन सकेका छैनन्।
शान्तनुका बुबाले भने, “हामीलाई अझै अस्पतालका कागजात देखाएर रकम लिन भनिएको छ। यस्तो अवस्थामा प्रशासन धाउनु अन्याय हो,” भन्दै सरकारको ढिलासुस्तीप्रति असन्तुष्टि जनाए।
उनले थपे, “प्रधानमन्त्री र मन्त्रीहरूको अभिव्यक्ति सुन्दा कहिलेकाहीँ डर लाग्छ—जेन जी आन्दोलनका उपलब्धिहरू कतै हराउने त होइनन्?”
जेन जी आन्दोलनले भ्रष्टाचार अन्त्य, न्याय र समान अवसर सुनिश्चितता, प्रणालीगत सुधार, निष्पक्ष न्याय प्रणाली र अभिव्यक्ति स्वतन्त्रताको रक्षा जस्ता माग अघि सारेको थियो।
आन्दोलनको यही पृष्ठभूमिमा इटहरीमा भएको झडपमा अभिषेक श्रेष्ठ र मोहन सरदारको मृत्यु भएको थियो भने शान्तनु ढकालसहित दर्जनौँ प्रदर्शनकारी घाइते भएका थिए।
स्थानीय नागरिक समाजका प्रतिनिधिहरूले काठमाडौँ केन्द्रित नीतिको अन्त्य गर्दै देशका सबै पीडितलाई समान दृष्टिले हेर्न सरकारसँग आग्रह गरेका छन्।
उनीहरूको भनाइमा, “राहत र उपचारमा भेदभाव अन्त्य गर्नुपर्छ। सबै घाइतेहरूलाई समान माया र न्याय दिलाउनु नै आन्दोलनको सच्चा सम्मान हुनेछ।”
प्रतिक्रिया