दमौली (तनहुँ) : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले स्थानीय तहलाई निमित्त प्रमुखको भरमा सञ्चालन गर्ने प्रवृत्ति अन्त्य गरिने बताइन्।
तनहुँको बन्दीपुर गाउँपालिकामा शुक्रबार आयोजित भेटघाट कार्यक्रममा उनले मन्त्रालयमा कर्मचारी जगेडामा बस्ने र निमित्त प्रमुखमार्फत काम चलाउने प्रथामा सुधार ल्याइने प्रतिबद्धता जनाइन्।
“स्थानीय तहमा निमित्त हटाउने अभियान सुरु भइसकेको छ। हाल १७३ स्थानीय तह निमित्त प्रमुखको भरमा सञ्चालित छन्। तराई क्षेत्रमा समस्या बढी देखिएको छ। यो संख्या शून्यमा झारिनेछ,” उनले बताइन् ।
उनका अनुसार, कर्मचारीको सरुवा वा बढुवा अब भनसुनको आधारमा नहुनेछ र नीतिगत रूपमा सुधार अघि बढाइनेछ।
त्यस्तै, उनले १०० स्थानीय तहमा समयमै बजेट नआएकाले तीन सहसचिवको नेतृत्वमा टोली खटाइएको पनि बताइन्। जनप्रतिनिधि र कर्मचारीबीच भागबण्डा नमिल्दा कतिपय पालिकामा बजेट रोकिएको र सहजीकरणपछि केहीले बजेट ल्याइसकेका, केहीले समय तोकेको जानकारी दिइन्।
प्रतिक्रिया