काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आफूहरू न्यायालयप्रति भएका आलोचनालाई सकारात्मक रूपमा लिने बताउँदै अदालतको कामकारबाहीमा निहित तथ्यहरूमाथि मात्रै टीकाटिप्पणी हुनुपर्ने बताएका छन् ।
‘सर्वोच्च अदालतमा मुद्दा बक्यौताको स्थिति र प्राथमिकताका क्षेत्रहरू’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश राउतले व्यक्तिको मूल्याङ्कन काम नगरीकनै गरिनु गलत प्रवृत्ति भएको उल्लेख गरे ।
‘देशमा मान्छेले कामै नगरीकन पनि पहिलेबाटै दुष्टको रूप बनाएको हुन्छन्,’उनले भने, ‘पहिला काम गर्न दिनुहोस्, अनि मात्रै मूल्याङ्कन गर्नुहोस्, ठिक भयो कि भएन भनेर ।’
उनले हाल न्यायाधीश नियुक्तिको ८० प्रतिशत प्रक्रियामा कुनै समस्या नभएको स्पष्ट गर्दै न्यायालयले पारदर्शिता कायम गर्न तथ्याङ्कका आधारमा काम गरिरहेको जानकारी दिए ।
अदालतको कामको विषयमा आलोचना हुनु स्वाभाविक भए पनि तथ्यहीन र असत्य सूचनाको आधारमा गरिने टीकाटिप्पणी उचित नहुने उनको भनाइ थियो । ‘अदालतको बारेमा टीकाटिप्पणी नहोस् भन्ने मेरो कुरा होइन, आलोचना नहोस् भन्ने पनि होइन,’उनले भने, ‘तर नभएको कुरा उजागर गरी अदालतलाई गलत ढङ्गले लिनु राम्रो होइन ।’
पत्रकारहरूको न्यायालयमा पहुँचबारे उठेका प्रश्नलाई गम्भीर रूपमा लिएको उनले बताए । उनले आफूले कुनै पनि काममा समस्या वा अवरोध नदेखाई निष्ठाका साथ आफ्नो जिम्मेवारीमा निरन्तर लाग्ने प्रतिबद्धता पनि जनाए ।
उनले भने, ‘पत्रकारको न्यायालयमा पहुँच भएन कि कम भयो कि भन्ने जुन कुरा छ यसलाई मैले गम्भीरतापूर्वक लिएको छु । राम्रो सूचना दिनको लागि एकदमै प्रयत्नशील छौँ । मैले कुनै पनि कुरामा बाधा छ समस्या छ नभनीकन मेरो दायित्वमा कठोर र निष्ठासँग लाग्ने हो ।’
प्रतिक्रिया