विराटनगर : मोरङको बूढीगङ्गा गाउँपालिका–२ स्थित विराट मेडिकल कलेज तथा टिचिङ हस्पिटलमा केही दिनदेखि रगतको अभाव देखिएको छ । हस्पिटलमा उपचारका लागि भर्ना भएका, तत्काल रगत आवश्यक पर्ने बिरामीले समेत रगत पाउन सकिरहेका छैनन् ।
दसैँपछि सबै समूहका रगतको अभाव रहेको विराट ब्लड बैंकका इञ्चार्ज प्रवीण दाहालले जानकारी दिए । सामाजिक क्षेत्रबाट हुने रक्तदान कार्यक्रम ठप्प हुँदा विराट मेडिकलसहित विराटनगरका अन्य हस्पिटलमा रगतको अभाव सिर्जना भएको उनको भनाई छ ।
विराटनगरमा सुविधा सम्पन्न हस्पिटलहरू भएकाले टाढाटाढाबाट बिरामीहरू आउने हुँदा रगतको माग पनि उच्च रहेको दाहालले बताए । माग बढ्दा केन्द्रमा रगतको अभाव सिर्जना हुने गरेको नेपाल रेडक्रस सोसाइटी मोरङले जनाएको छ ।
विराट मेडिकलमा सहज रूपमा उपलब्ध हुने पोजेटिभ समूहको रगतको समेत अभाव भएको ब्लड बैंकका इञ्चार्ज दाहालको भनाइ छ । रगतको अभाव भएपछि रगत दिनुपर्ने अवस्थाका बिरामीका आफन्तहरूले बढी हैरानी व्यहोर्नु परेको छ । हस्पिटलमा चिकित्सकले रगत चढाउनुपर्छ भनेपछि उहाँहरूसम्बन्धित समूहको रगत खोजीमा भौतारिनुपर्ने अवस्था छ भने बिरामीले समयमा रगत नपाउने अवस्था छ ।
विराट मेडिकलमा दैनिक १०० देखि १२० पिन्ट रगतको माग हुने गरेको अस्पताल प्रशासनले जनाएको छ । पछिल्लो समय रक्तदान गर्नेको सङ्ख्यामा कमी हुँदा समस्या भएको ब्लड बैंकका इञ्चार्ज दाहालले बताए । पछिल्लो समय दिनमा १५ देखि २० जनाले मात्रै रक्तदान गरिरहेका छन् ।
उनका अनुसार रगतको अभाव हुँदा दुर्घटनाका घाइते, गर्भवती, सुत्केरी, शल्यक्रिया गर्नुपर्ने बिरामी, दीर्घरोगी र नियमित रगत आवश्यक पर्ने बिरामीलाई असर परिरहेकाले सङ्घसंस्थाले रक्तदान अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ ।
प्रतिक्रिया