काठमाडौं : नेपाली कांग्रेसले शसस्त्र प्रहरीका असई थमन विकको हत्या आरोपमा फरार अभियुक्त देवेन्द्र यादवलाई दिइएको सदस्यता २४ घण्टामै खारेज गरेको छ।
काँग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री विश्वप्रकाश शर्माले बिहीबार पार्टी कार्यालयमै बोलाएर यादवलाई सदस्यता दिएका थिए। तर चौतर्फी आलोचना बढेपछि आज कांग्रेसले ‘थाहा नभएको’ कारण देखाउँदै सदस्यता खारेज गरेको हो।
पार्टीले जारी गरेको विज्ञप्तिमा फौजदारी मुद्दामा संलग्न रहेको थाहा पाएपछि सदस्यता खारेज गरिएको र कानूनी कारबाहीका लागि गृह प्रशासनको ध्यानाकर्षण गराइएको उल्लेख छ।
विक हत्याका आरोपित यादव प्रहरीको सूचीमा फरार अभियुक्त हुन्। महोत्तरी जिल्ला अदालतले उनको मुद्दा मुलतवीमा राखेको छ।
थमन विकको हत्या २०७२ भदौ २५ गते मधेश आन्दोलनका क्रममा भएको थियो। अदालतले २०८० मंसिर २८ गते सात जनालाई जन्मकैदको सजाय सुनाएको थियो। हत्या भएको तीन वर्षपछि २०७५ साउन २८ गते २८ जनाविरुद्ध कर्तव्यज्यान मुद्दा दर्ता भएको थियो।
प्रतिक्रिया