विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीप्रति सम्मानजनक व्यवहार गर्नुपर्ने बताएका छन्। शुक्रबार धनकुटामा अखिल नेपाल महिला सङ्घले आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले राष्ट्रको प्रमुख भइसकेको व्यक्ति सक्रिय राजनीतिमा नफर्किनु उचित हुने धारणा राख्दै, उहाँलाई सामाजिक कार्यमा संलग्न हुन अभिप्रेरित गर्नुपर्ने बताए।
“हामीले पूर्व राष्ट्रपति भइसकेको व्यक्तिलाई गालीगलौज होइन, सम्मानपूर्वक व्यवहार गर्नुपर्छ। उहाँले संविधानको संरक्षक र सबैको अभिभावकको भूमिकामा रहनुभयो, त्यसैले सम्मानित भएर बस्नु नै राष्ट्रको हितमा हुन्छ,” उनले भने।
मुख्यमन्त्री कार्कीले नेकपा एमाले निर्माणमा भण्डारीको योगदान उल्लेखनीय रहेको उल्लेख गर्दै, त्यो योगदानलाई पनि उच्च सम्मानका साथ स्मरण गर्नुपर्ने बताए। उनका अनुसार, एमालेले भण्डारीलाई सम्मानपूर्वक र सम्मानित जीवन बिताउन आग्रह गरेको छ।
कार्यक्रमका क्रममा मुख्यमन्त्री कार्कीले उद्यमशीलता विकासका लागि कोशी प्रदेश सरकारले अघि बढाएका विभिन्न पहलहरूको जानकारी पनि दिए। उनका अनुसार, प्रदेश सरकारले बिना धितो ऋण उपलब्ध गराउने व्यवस्था गरेको छ। “अब तपाईंहरूले नयाँ र राम्रो खालको उद्यम सुरु गर्न चाहनुहुन्छ भने, तपाईंहरूको परियोजना मूल्यांकन गरेर बैंकले ऋण दिनेछ। त्यो ऋणको ब्याज प्रदेश सरकारले तिरिदिनेछ, र ऋण लिँदा धितो राख्नुपर्ने छैन,” उनले स्पष्ट पारे।
प्रतिक्रिया