दिवङ्गत चालककी छोरीको शिक्षाका लागि आर्थिक सहयोग

शुक्रबार, ३० साउन २०८२

धरान । हृदयघातका कारण ज्यान गुमाएका यातायात मजदुर मुक्ति भुजेलकी छोरी आर्या भुजेलको शिक्षाका लागि हङकङमा बसोबास गर्दै आएकी रजीता राईले ११ हजार रुपैयाँ सहयोग उपलब्ध गराएकी छिन्।

धरान–धनकुटा रुटका यात्रुबाहक बस चालक रहेका मुक्ति भुजेल २०७८ मंसिर ६ गते मारेकटहरे पुगेका बेला राति सुतिरहेकै अवस्थामा हृदयघात हुँदा निधन भएका थिए। उनी दिवङ्गत भएपछि उनकी श्रीमती मिना भुजेल र ७ वर्षीया छोरी आर्या धरान–८ स्थित अरुणटोल सुकुम्बासी बस्तीमा बस्दै आएका छन्। आर्या धरान–८ दुर्गापथस्थित जुनियर पायनियर स्कुलमा कक्षा २ मा अध्ययनरत छिन्।

छोरीको शिक्षामा सहयोग जुटाउन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईको पहलमा स्रोत खोजी गरिएको थियो। सो क्रममा धरान निवासी र हाल हङकङमा कार्यरत रजीता राईले अनिष गुरुङ मार्फत ११ हजार रुपैयाँ सहयोग पठाएकी हुन्।

शुक्रबार भुजेल परिवारको निवासमै पुगेर मजदुर नेता भीमज्वाला राई, केवाइसि पुनर्जीवन केन्द्रका व्यवस्थापक अनिष गुरुङ, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्ले लगायतको उपस्थितिमा उक्त सहयोग हस्तान्तरण गरिएको हो।

दिवङ्गत भुजेलकी पत्नी मिना भुजेलका अनुसार श्रीमानको निधनअघि उनी पेट्रोल पम्पमा काम गर्थिन्। तर, श्रीमानको मृत्युपछि छोरीलाई विद्यालय लैजाने–ल्याउने र तयारी गराउने जिम्मेवारीका कारण पूर्णकालीन रोजगारी गर्न नसकेकोले शिक्षासम्बन्धी खर्च व्यवस्थापनमा कठिनाइ भइरहेको बताइन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार