झापा । झापाको बाह्रदशी गाउँपालिका–५ कालिदास टोलकी १५ वर्षीया झरना राजवंशीको घाग्रा खोलामा डुबेर मृत्यु भएको छ । शुक्रबार दिउँसो साथीहरूसँग पौडी खेल्ने क्रममा खोलाले बगाउँदा उनको मृत्यु भएको हो ।
झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार झरना गौरीशंकर माध्यमिक विद्यालय डाँगिबारीको कक्षा–१० मा अध्ययनरत थिइन् । विद्यालय बिदा भएपछि उनी ७–८ जना साथीहरूसँग खोलामा पौडी खेल्न गएकी थिइन् ।
दिउँसो करिब ३ बजे पानीको बहाव बढी भएकाले उनी खोलाको ‘घुमाउने दह’मा फसिन् । डुबेको केही समयपछि उनको शव घटनास्थलबाट करिब ३० मिटर दक्षिणतर्फको झाडीमा अड्किएको अवस्थामा फेला परेको खड्काले बताए ।
घटनाको जानकारी पाउनेबित्तिकै अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीबाट टोली खटिएको छ । वर्षायाममा घाग्रा खोलामा पानीको बहाव बढ्ने भएकाले विशेष सतर्कता अपनाउनुपर्ने प्रहरीको भनाइ छ ।
प्रतिक्रिया