धरान : सुनसरीको बराहक्षेत्र नगरपालिका–१ मदन भण्डारी लोकमार्गस्थित दुध खोलामा आएको आकस्मिक बाढीले मोटरसाइकलसहित बगाउँदा एक युवती बेपत्ता भएकी छन् भने उनका बुबा गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाका अनुसार शुक्रबार दिउँसो करिब २ बजे उदयपुरबाट चतरातर्फ जाँदै गरेको को ४ प ६८८३ नम्बरको मोटरसाइकल दुध खोलाले बगाएको हो। दुर्घटनामा धरान उपमहानगरपालिका–१६ का ४३ वर्षीय जीवन राई गम्भीर घाइते भएका छन्। उनको उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको छ।
मोटरसाइकलको पछाडि सवार उनकी १९ वर्षीया छोरी अनिता राई भने हालसम्म बेपत्ता रहेको प्रहरीले जनाएको छ। उनीहरूको खोजीका लागि सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले संयुक्त रूपमा उद्धार कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
प्रतिक्रिया