सुनसरीको दुहबीमा निर्माणाधीन घरको ‘सेफ्टी ट्यांकी’भित्र ठेकेदार र कामदार मृत फेला

बुधबार, २८ साउन २०८२

इटहरी ।   सुनसरीको दुहबीमा निर्माणाधीन घरको ‘सेफ्टी ट्यांकी’भित्र ठेकेदार र कामदार मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार मृत्युको कारण अहिलेसम्म स्पष्ट भएको छैन । घटनाको विस्तृत अनुसन्धान सुरु भएको छ।

दुहबी नगरपालिका–४ शिव मन्दिर चोकमा चन्द्रिका रौनियारको नयाँ घर बन्दै थियो । बुधबार बिहान करिब १० बजे सो घरको ‘सेफ्टी ट्यांकी’भित्र दुई जनाको शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार मृत फेला पर्नेमा दुहबी–२ निवासी अन्दाजी ५० वर्षीय श्यामबहादुर तामाङ र ३२ वर्षीय रमेश राई रहेका छन् । तामाङले पेटी ठेकेदारका रूपमा सो घर निर्माणको जिम्मा लिएका थिए भने राई कामदार हुन् ।

घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय दुहबीका इन्स्पेक्टर सागर तिमिल्सिनाको नेतृत्वमा प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो । प्रारम्भिक जाँचपछि थप वैज्ञानिक प्रमाण संकलनका लागि फरेन्सिक विज्ञसमेतको टोली घटनास्थलतर्फ पठाइएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट विशेषज्ञ बोलाइएको हो ।

घटनास्थल दुहबी इलाका प्रहरी कार्यालयदेखि करिब दुई किलोमिटर पूर्वतर्फ पर्छ । डीएसपी खतिवडाले दुवै जनाको शव अहिले पनि घटनास्थलमै रहेको र मृत्युको कारण खुल्न बाँकी रहेको जानकारी दिए । उनका अनुसार विस्तृत अनुसन्धानपछि मात्र यो दुर्घटना हो वा हत्या भन्ने यकिन हुनेछ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार