विराटनगरलाई डुबानबाट जोगाउन केशलिया करिडोर निर्माणका लागि बजेट सुनिश्चित

शनिबार, ३१ जेठ २०८२

विराटनगर : विराटनगर तथा मोरङ–सुनसरीका बाढी प्रभावित क्षेत्रलाई डुबानबाट सुरक्षित राख्न केशलिया करिडोर निर्माणका लागि संघीय सरकारले समपुरक अनुदानअन्तर्गत आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। यससँगै प्रदेश र स्थानीय तहले पनि योजना कार्यान्वयनमा सहकार्य गर्ने भएका छन्।

पूर्वमुख्यमन्त्री एवं यस क्षेत्रका कोशी प्रदेश सभा सदस्य केदार कार्कीका अनुसार प्रदेश सरकारले आगामी बजेटमै करिडोर निर्माणका लागि रकम छुट्याउने तयारी गरिसकेको छ। बुढीखोला–केशलिया करिडोर निर्माण प्रस्ताव पहिले नै अघि सारिएको र त्यसमा स्वयम्‌ उनले नेतृत्वदायी भूमिका खेलेका हुन्।

यो करिडोर विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका (मोरङ), दुहबी नगरपालिका र बर्जु गाउँपालिका (सुनसरी) को समन्वयमा संघीय, प्रदेश र स्थानीय तहको साझेदारीमा निर्माण गरिनेछ।

डीपीआर तयार, वातावरण र सहरी विकासमा समेत योगदान

आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत तयार पारिएको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार करिडोरले बाढी नियन्त्रण मात्र नभई सहरी वन विकास, व्यवस्थित बस्ती निर्माण र कृषि आधुनिकीकरणमा समेत योगदान पुर्याउनेछ।

विज्ञ प्रशान्त मल्ल, ज्योती श्रेष्ठ र महेन्द्र सुब्बाले तयार पारेको प्रतिवेदनमा २० देखि १०० वर्षसम्मको बाढी प्रतिरोध योजना समावेश गरिएको छ। करिडोर अन्तर्गत तटबन्ध, भित्री सडक, पुलपुलेसा, कल्भर्ट र सहरी पूर्वाधार विकाससमेत हुने जनाइएको छ।

६,४०० हेक्टर उच्च जोखिम क्षेत्र सुरक्षित हुने आशा

चुरे क्षेत्रबाट सुरु भएर सेरा, हुरहुरे, गछिया खोला हुँदै बग्ने केशलिया नदी नेपाल–भारत सिमाना सम्म पुग्ने क्रममा करिब ६,४०० हेक्टर भू–भाग उच्च बाढी जोखिममा पर्छ। विज्ञहरूका अनुसार करिडोरले यी क्षेत्रलाई दीर्घकालीन सुरक्षा दिनसक्नेछ।

पूर्वमुख्यमन्त्री कार्कीले भने, “विकास, सुरक्षा र समृद्धिलाई एकसाथ जोड्ने केशलिया करिडोर विराटनगर उपत्यकाको स्वरूप परिवर्तन गर्ने ऐतिहासिक परियोजना बन्न सक्छ।”

यही सन्दर्भमा स्थानीयबासीहरूले सिंघिया नदी नियन्त्रण योजना पनि सँगै अघि बढाउन आग्रह गरेका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार