रौतहट : सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वाटर रौतहटले पछिल्लो चार महिनामा एक करोड ८२ लाख ९५ हजार ६५० मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । गत १ फागुनदेखि जेठ मसान्तसम्ममा उक्त रकम बराबरका विभिन्न थरिका अवैध समान बरामद गरिएको हो ।
नम्बर ११ हेडक्वाटरका गणपति सन्तोषकुमार बस्नेतले सशस्त्र प्रहरीले चार महिनामा ६९ लाख ३२ हजार मूल्य बराबरका सवारीसाधन नियन्त्रणमा लिएको जानकारी दिए । 'सीमा सुरक्षामा खटिने सुरक्षाकर्मीले सक्रियता बढाएसँगै अवैध चोरीपैठारीका सामान बरामद हुने क्रम बढेको छ,' उनले भने, 'एक थान स्कारर्पियो, एक थान अटोरिक्सा, ५४ थान मोटरसाइकल र चार थान साइकल पनि बरामद भएको छ ।'
सोही अवधिमा ८५ लाख ६८ हजार २२४ रुपैयाँ मूल्य बराबरको अवैध किराना तथा कस्मेटिक सामान, लत्ताकपडा र मोटरपार्टस बरामद भएको नम्बर ११ हेडक्वाट कार्यालयले जनाएको छ । पछिल्लो चार महिनामा स्रोत नखुलेको १० लाख ६१ हजार नेपाली रुपैयाँ पनि बरामद भएको गणपति बस्नेतले जानकारी दिए । उनका अनुसार त्यसैगरी स्रोत नखुलेको ६ लाख ४ हजार ६४० भारतीय रुपैयाँ, सेमी अटोमेटिक पेस्तोलसमेत बरामद भएको छ ।
मानव बेचबिखनमा पर्न सक्ने आशंकामा नाकाबाट १० जना नेपाली महिला उद्धार जनाउँदै बस्नेतले सोही अवधिमा ५३ किलो गाँजा तथा अन्य लागुऔषध पनि बरामद गरिएको बताए । हेडक्वाटर मातहतमा रहेका पाँचवटा युनिटलाई अवैध चोरीपैठारी तथा सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न उनले निर्देशन दिएका छन् ।
प्रतिक्रिया