धरान श्रमदान विवाद : चन्दा सङ्कलनदेखि डोजर र टिपरको चाबी खोसा-खोससम्म

मंगलबार, ०३ असार २०८२

धरान । धरान उपमहानगरपालिकामा मेयर हर्क साम्पाङ को श्रमदान अभियानलाई लिएर विवाद चुलिएको छ। चन्दा सङ्कलनदेखि पारदर्शिता अभाव र नगर सम्पत्तिको प्रयोगमा देखिएको असमझदारीले नेतृत्व तहमा खुला टकराबको रूप लिएको हो।

 मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्र विक्रम बेघाबिचको सम्बन्ध  ‘संवादहीनता’ को अवस्थामा पुगेको छ । पछिल्ला दिनहरूमा मेयर र उपमेयरले खुलेरै सार्वजनिक रूपमा एक–अर्कामाथि आरोप–प्रत्यारोप लगाउँदै आएका छन् । 

आज (मङ्गलवार) मेयर हर्क साम्पाङले पत्रकार सम्मेलन गरेर उपमेयर अइन्द्र विक्रम बेघामाथि गम्भीर आरोप लगाए।  बेघाले राजनीतिक उक्साहटमा लागेर काममा सहयोग नगर्ने, अवरोध गर्ने गरेको आरोप लगाए। उपमेयर अरूको इसारामा कराउने मात्रै काम गर्छन्, काममा साथ दिँदैनन्, साम्पाङले भने।

पत्रकार सम्मेलनमा मेयर साम्पाङले भने  “नगरपालिकाको डोजर र टिपरको चाबी उपमेयरले खोसेर लगे। फिर्ता लिन प्रहरी पठाउँदा पनि फोन उठाएनन्। यस्तो हस्तक्षेप नगरको सम्पत्तिमा गर्न मिल्दैन।”

पछिल्लो समय श्रमदान अभियान विवादको केन्द्रमा छ। मेयर साम्पाङले सामाजिक सञ्जाल, क्युआर कोड, नगद तथा चन्दा सङ्कलनमार्फत कोष उठाउँदै आएको भए पनि त्यसको पारदर्शी लेखाजोखा सार्वजनिक नगरिएको भन्दै प्रश्न उठ्दै आएको छ।

उपमेयर अइन्द्र विक्रम बेघाले भने सबै आरोप अस्वीकार गरे। उनले श्रमदानको नाममा नगरपालिकाको साधन स्रोतको अनधिकृत प्रयोग भइरहेको र निर्णयबिना कसैले पनि डोजर, टिपर चलाउन नमिल्ने भएकाले सार्वजनिक सम्पत्तिको संरक्षणका लागि आफूले चाबी लिएको बताए । 

उनीहरूले एक अर्कामाथि सार्वजनिक रूपमा आरोप–प्रत्यारोप गरिरहेका बेला नागरिकहरू भने नगरको पारदर्शितामाथि प्रश्न उठाउँदै छन्। विशेष गरी श्रमदानको नाममा उठाइएको रकम, त्यसको स्रोत र खर्चबारे सार्वजनिक जानकारी नदिइएको भन्दै आलोचना चुलिएको छ।

विपद् व्यवस्थापनमा पनि मेयर र उपमेयर बिच समन्वय अभाव देखिएको छ। उपमेयर बेघाले गत जेठ १६ गतेको बाढीको समयमा मेयरसँग सात दिनसम्म सम्पर्क गर्न खोज्दा कुनै प्रतिक्रिया नआएको बताए। “योजना बनाउन पाउने अधिकार नभए पनि समन्वय त गर्न पाउनु पर्ने हो। उल्टै मलाई असहयोगी भनिएको छ,” उनले भने।

यता मेयर साम्पाङले भने बाढी आउँदा आफू एक्लै भएको तर  उपमेयर भने टिम लिएर निरीक्षण गर्न गएका आरोप लगाए ।  यस्तो विपद्को बेला पनि आफूलाई  दोष दिन खोजिएको मेयर साम्पाङले गुनासो गरे । 

तीन वर्षे कार्यकालमा मेयर साम्पाङले थुप्रै अभियान चलाएका छन् सडक सरसफाइ, खुला दिसामुक्त धरान, श्रमदानमा जनसहभागिता बढाउने प्रयास समेत उनले गर्दै आएका छन् ।  तर अभियानहरूलाई कानुनी ढाँचामा ल्याउने, पारदर्शी बनाउने र संस्थागत स्थायित्व कायम गर्ने पक्ष भने कमजोर देखिएको आरोप मेयर साम्पाङ्गलाई लाग्दै आएको छ।

बजेटको तयारीमा लाग्नु पर्ने समयमा धरानको नेतृत्व गरिरहेका मेयर उपमेयरको सम्बन्ध संवादहीनताको मोडमा पुगेपछि धरानको विवाद छताछुल्ल भएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार