काठमाडौँ: देशभर हाल आंशिकदेखि सामान्य बदलीको अवस्था छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेष गरी कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा अहिले नै मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
दिउँसोका लागि पूर्वी भूभागमा मनसुनी वायुको प्रभाव रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही क्षेत्रहरूमा दिउसो हल्का वर्षाको सम्भावना छ। देशको पश्चिमी भूभागमा भने स्थानीय र पश्चिमी वायुले आंशिक प्रभाव पार्ने देखिएको छ।
रातको समयमा वर्षा थप तीव्र हुने पूर्वानुमान छ। विशेष गरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षा हुन सक्नेछ।
यीमध्ये केही क्षेत्रहरूमा भारीदेखि अति भारी वर्षा पनि हुन सक्ने भएकाले उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह छ।
यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
मौसमको यस्तो अवस्थाले जनजीवन, कृषि कार्य, स्वास्थ्य सेवा, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले पूर्वतयारी र सावधानी आवश्यक हुने महाशाखाले उल्लेख गरेको छ।
प्रतिक्रिया