‘राजाले पुनः फर्किने दुस्साहस नगर्नु नै राम्रो हुन्छ’ : नेता विश्वकर्मा

शनिबार, ०७ असार २०८२

विराटनगर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सूचना, सञ्चार र प्रचार विभाग प्रमुख मीन बहादुर विश्वकर्माले पूर्व राजा वा राजसंस्थाको पुनः स्थापनाको 'दुस्साहस' नगर्न चेतावनी दिएका छन्। उनले हिन्दु राष्ट्रको नाममा राजसंस्था फर्काउने प्रयास सफल नहुने दाबीसमेत गरेका छन्।

नेपाल मुस्लिम डाक्टर एन्ड पारामेडिक्स एसोसिएसनको दोस्रो साधारण सभा तथा सम्मान समारोहलाई शनिवार विराटनगरमा सम्बोधन गर्दै नेता विश्वकर्माले लोकतान्त्रिक शासन व्यवस्थाको जर्गेना गर्न सबै नागरिकको सक्रियता अपरिहार्य रहेको बताए।

“हिजो बोल्न नपाउने अवस्था थियो, तर आज जनताले सङ्गठन खोल्ने स्वतन्त्रता पाएका छन्,” उनले भने, “जनताको शासन जनतामै फर्किएको छ, राजा ज्ञानेन्द्रले जनताको नासो जनतालाई फिर्ता गरिदिएका हुन्।”

उनले मुस्लिम समुदायको एकता, अनुशासन र सीपको प्रशंसा गर्दै यसलाई ‘अनुकरणीय’ भने। “मुस्लिम समुदाय आफैँमा इज्जतिलो जात हो,” उनले उल्लेख गरे, “तपाईँहरूको एकता निकै महत्त्वपूर्ण छ, यसलाई सधैँ जोगाउनुहोस्।”

वर्तमान राजनीतिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै विश्वकर्माले जनतामा लोकतन्त्रप्रति वितृष्णा बढिरहेको बताए। “जबसम्म जनताले लोकतन्त्र अनुभूति गर्न सक्दैनन्, तबसम्म असन्तोष र निराशा रहन्छ,” उनले चेतावनी दिए।

सङ्घीयताको औचित्य स्पष्ट पार्दै उनले केन्द्रबाट मात्रै मुलुक चल्न नसक्ने भएकाले सङ्घीय संरचना आएको उल्लेख गरे। “सिंहदरबारले मात्रै मेची–महाकाली शासन गर्न नसकेपछि सङ्घीयता आएको हो,” उनले भने।

कार्यक्रममा उनले लोकतन्त्र बलियो बनाउन सबै पेसागत समूह र समुदायले आफ्नो ठाउँबाट राजनीतिक चासो लिनुपर्नेमा जोड दिए। साथै मुस्लिम समुदायप्रति ऐक्यबद्धता जनाउँदै आफू सधैँ सहयोग गर्न तयार रहेको प्रतिबद्धता पनि व्यक्त गरे।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार