विराटनगर । विराटनगरमा सिटी सफारीमा यात्रा गरिरहेका एक वृद्धको तीन लाख रुपैयाँ चोरी गर्ने तीन भारतीय महिला पक्राउ परेका छन्। मोरङ प्रहरीले विशेष निगरानीपछि उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार कटहरी गाउँपालिका–४ का ७० वर्षीय नारायण प्रसाद काफ्लेले बैंकबाट रकम झिकेर सिटी सफारीमा यात्रा गरिरहेका बेला उनको ब्यागबाट नगद हराएको थियो। सोही क्रममा प्रहरीको निगरानीमा रहेका तीन महिला पनि सो सिटीमा यात्रा गरिरहेका थिए। प्रहरीले सन्देहका आधारमा सिटीलाई कटहरी–१ बुधहाटमा रोकेर खानतलासी गर्दा काफ्लेको हराएको रकम उनीहरूको साथबाट फेला पारिएको हो।
पक्राउ पर्नेमा भारत बिहार पूर्णिया घर भएका २४ वर्षीया प्रियंका धामी, २५ वर्षीया बिहोला धामी र २० वर्षीया अटकारी धामी छन्। उनीहरूले बैंकबाट रकम झिक्ने व्यक्तिको पहिल्यै रेकी गरेर पछ्याउने र सिटी सफारीमा चोरी गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
मोरङ प्रहरीका प्रवक्ता कोपिला चुडालका अनुसार पीडित काफ्ले गम्भीर रोगका बिरामी हुन् र उपचारका लागि रकम झिकेका थिए। पक्राउ परेका महिलामाथि चोरी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया