धरान : लामो समयदेखि बजेटविहीन बनेको धरान उपमहानगरपालिकाले अन्ततः चालु आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रमसहित २ अर्ब २० करोड ७४ लाख ५९ हजारको बजेट कार्यपालिकाबाट पारित गरेको छ। अब यो बजेट आउँदो असोज ४ गते नगरसभामा अनुमोदनका लागि प्रस्तुत गरिने भएको छ।
धरान–१७ का वडाध्यक्ष तथा नगर प्रवक्ता सूर्यप्रसाद भट्टराईका अनुसार बिहीबार बसेको कार्यपालिका बैठकले बजेटसँगै नीति तथा कार्यक्रम पनि सर्वसम्मत पारित गरेको हो। यसअघि भदौ २६ गते नगरसभा गर्ने तय भए पनि जेन–जी आन्दोलनका क्रममा भएको तोडफोड, लुटपाट र आगजनीका कारण स्थगित गरिएको थियो।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार असार मसान्तभित्र बजेट पारित गर्नुपर्ने प्रावधान भए पनि धरान उपमहानगरपालिकाले तीन महिना ढिला गरी बजेट प्रक्रिया अघि बढाएको हो। यसबीच विकास निर्माण, कर्मचारी पारिश्रमिक, सामाजिक सुरक्षा भत्ता, सार्वजनिक सेवा र आर्थिक कारोबार ठप्प भएका थिए।
नगर प्रमुख हर्कराज राई (साम्पाङ) र उपप्रमुख अइन्द्रविक्रम बेघाबीच श्रमदान कार्यक्रम, प्रशासकीय निर्णय र बजेट सिलिङबारे मतभेद भएकाले लामो समय कार्यपालिका बैठक बस्न नसकेको हो। यद्यपि अन्ततः सहमति जुट्दै बजेट पारित भएपछि नगरको विकास कार्य अघि बढ्ने अपेक्षा गरिएको छ।
बैठकले जेन–जी आन्दोलनका क्रममा भदौ २३ र २४ गते शहादत प्राप्त व्यक्तिहरूप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोक प्रस्ताव पारित गरेको छ। साथै, भदौ २४ मा भक्तपुरमा गोली लागेर निधन भएका धरान–५ का साजन मेवाहाङ राईका दुई छोराका लागि रु. ५ लाखको शैक्षिक कोष स्थापना गर्ने निर्णय पनि गरिएको छ।
प्रतिक्रिया