काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय (एलएसएमई) दिवस भव्य रुपमा मनाएको छ। बैंकले यही अवसर पारेर सञ्चालन गर्दै आएको ‘ग्लोबल हाटबजार’ कार्यक्रमको २५औं हप्ता प्रवेशको उपलक्ष्यमा विशेष मेला आयोजना गरेको हो।
बैंकले आफूले ऋण लगानी गरेका लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुहरुलाई बजारीकरणमा सहयोग पुर्याउने उद्देश्यसहित हरेक शुक्रबार काठमाडौँस्थित कमलादी शाखामा हाटबजार सञ्चालन गर्दै आएको छ। यस हाटबजारमा अर्गानिक तथा रैथाने उत्पादन, विषादी रहित कृषि उपज, हस्तकला सामग्री, सजावटी बिरुवा लगायत स्थानीय स्रोतमा आधारित सामग्रीहरु प्रदर्शन तथा बिक्रीका लागि राखिन्छन्।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले हाटबजारले दिगो तथा हरित अर्थतन्त्र निर्माणमा योगदान दिइरहेको बताए। उनले लघु, साना तथा मझौला उद्यमहरुले उत्पादन गरेका वस्तुहरुलाई बजारमा सहज पहुँच दिलाउन र कृषकलाई उत्पादनको उचित मूल्य पाउन हाटबजारले सघाएको उल्लेख गरे। साथै उनले अर्गानिक, रैथाने र स्थानीय उत्पादनलाई बजारीकरण गर्दै नेपाली उत्पादनको प्रवर्द्धनमा यसले सकारात्मक भूमिका खेलेको बताए।
रेग्मीले भने, “सानो प्रयासबाट सुरु गरिएको हाटबजार अहिले व्यापक बन्दै गएको छ। यसले देशभित्रको आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग पुर्याउनेछ।”
ग्लोबल आइएमई बैंकले हाल देशभर ३५२ शाखा, ३८५ एटिएम, १५८ शाखा रहित सेवा केन्द्रसहित १,००० भन्दा बढी सेवा बिन्दुबाट सेवा प्रदान गर्दै आएको छ। साथै, बैंकले अमेरिका, बेलायत, अष्ट्रेलिया, दक्षिण कोरिया, मलेशिया, जापान लगायत विभिन्न मुलुकहरुमार्फत रेमिट्यान्स सेवा पनि प्रदान गर्दै आएको छ।
हालै बैंकले ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड २०२४’ र युरोमनीको ‘एक्सिलेन्स अवार्ड २०२४’ मार्फत नेपालकै उत्कृष्ट बैंकको रुपमा सम्मान प्राप्त गरिसकेको छ।
प्रतिक्रिया