गगन थापा भन्छन्– वीपी प्रतिष्ठान छाता ऐनअन्तर्गत पर्दैन

शुक्रबार, १३ असार २०८२

काठमाण्डौं । पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान (छाता ऐन) अन्तर्गत नराख्नुपर्ने धारणा राखेका छन्।

उनले छाता ऐन पुरानो परिकल्पना भएकाले हालका सन्दर्भमा वीपी प्रतिष्ठानजस्तो विशिष्ट संरचना र प्रभाव भएको संस्थालाई त्यसमा समेट्दा समस्या आउने बताए। 

नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र, जसपा लगायतका नेताहरूको सर्वदलीय टोलीले शुक्रबार काठमाण्डौंमा गगन थापालाई ध्यानाकर्षणपत्र बुझाएको थियो।

सो अवसरमा थापाले भने “विश्वविद्यालय निर्माणका लागि संरचना मात्र हैन, विरामी पनि हुनुपर्छ। पूर्वमा वीपीबाहेक यस्तो संरचना छैन। वीपीलाई विश्वविद्यालय बनाउन सकियो भने पूर्वमा अन्य पाँचवटा स्वास्थ्य प्रतिष्ठान थप गर्ने बाटो खुल्छ।”

सर्वदलीय टोलीले छाता ऐन अन्तर्गत वीपी प्रतिष्ठान समेट्ने सरकारी तयारीप्रति गम्भीर असहमति रहेको उल्लेख गर्दै प्रतिष्ठानलाई अलग्गै चिकित्सा विज्ञान विश्वविद्यालयका रूपमा विकास गर्न आग्रह गरेका थिए।

थापाले उक्त धारणा प्रति सहमति जनाउँदै तिमीहरूलाई भने, “छाता ऐन पुरानो कन्सेप्ट हो। हरेक प्रतिष्ठानका आफ्ना विशेषता हुन्छन्, सबैलाई एउटै ऐनमा कोचेर केन्द्रीकृत बनाउने हो भने समस्या आउँछ।”

टोलीमा कांग्रेस धरान सभापति श्याम पोखरेल, एमाले कोशी प्रदेश सदस्य भीमज्वाला राई, मौसम राई, माओवादी केन्द्र धरान अध्यक्ष उद्धव लिम्बू, जसपाका धरान अध्यक्ष ताजुव लिम्बू, कांग्रेस कोशी प्रदेश सदस्य कुसुम ओली आचार्य, धरान सचिव हिमाल श्रेष्ठ, यातायात व्यवसायी नेता सरोज सिटौला र धरान-१७ वडा अध्यक्ष सूर्यप्रसाद भट्टराई (मनोज) सहभागी थिए।

सर्वदलीय टोलीले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार