महाधिवेशन बिना वर्षौं : कांग्रेस भ्रातृ सङ्गठनको म्याद थप या पूर्णविराम ?

सोमबार, १६ असार २०८२

काठमाडौं : संसदको सबैभन्दा ठूलो लोकतान्त्रिक दल नेपाली कांग्रेसको आजबाट हुने बैठकको मूल विषय नै भ्रातृसंगठनको म्याद थप कि विघटन भन्ने एजेण्डामा केन्द्रित हुने भएको छ ।

दशकदेखि महाधिवेशन हुन नसकेका नेविसंघ, तरूणदल, महिला संघलगायत भ्रातृसंगठनलाई अन्तिम मौका दिने वा विघटन गर्ने भन्ने विषयमा पार्टीभित्रै चर्को बहस भइरहेको हो । 

यो विषय पार्टी बैठकको एउटा महत्वपूर्ण एजेण्डा बनेको कांग्रेस नेताहरूले बताए । यद्यपि बैठकमा अन्य एजेण्डाहरू पनि छन् ।

लामो समय पश्चात बस्न लागेको केन्द्रीय समितिको बैठक ३ वटा विषयमा केन्द्रित हुने कांग्रेसका सूचना, संचार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए । उनका अनुसार पहिलो नम्बरमा पार्टी बैठकमा समसामयिक राजनीतिका विषयमा छलफल हुने छ । 

त्यस्तै भ्रातृ संस्थाको महाधिवेशनको म्याद थप्ने कि विघटन गर्ने र क्रियाशील सदस्यता नवीकरण तथा नयाँ वितरणको विषयमा व्यापक छलफल हुनेछ ।

 ‘केन्द्रीय समिति बैठक यिनै ३ विषयमाथि व्यापक छलफल गरी निष्कर्षमा पुग्ने छ’, उनले भने ‘भ्रातृ संस्थाको महाधिवेशनको विषय अलि जटिल बन्दै गएकाले यो एजेण्डामा विशेष छलफल हुने देखिन्छ । पार्टीको क्रियाशील सदस्याको विषय पनि उत्तिकै महत्वपूर्ण भएकाले सम्बन्धित विषयका जिम्मेवार साथीहरूको प्रगति प्रतिवेदनका आधारमा छलफल गरेर निष्कर्षमा पुुग्छौं ।’ 

प्रत्येक २ महिनामा केन्द्रीय समितिको बैठक बस्ने निर्णय गरेको कांग्रेसले १० महिना पछि बैठक बोलाएको छ । बैठकमा महाधिवेशन हुन नसकेका पार्टीका भ्रातृ संगठनको समयतालिका माग देखि सरकारको समीक्षा गर्ने विषयले समेत प्राथमिकता पाउने नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले बताए ।

गत भदौबाट नियमित बैठक गर्न नसकेको कांग्रेसले पार्टीको १५औँ महाधिवेशन र त्यसको तयारीका विषय समेत उठाउने नेताहरूको तयारी छ । तर, पार्टी बैठकको कार्यसूचीमा ती विषयलाई राखिएको छैन् । 

महाधिवेशन नभएका भ्रातृ संगठनहरूको विघटन गर्ने वा म्याद थप गर्ने, वर्तमान समसामयिक राजनीति, पार्टीको क्रियाशील सदस्यता नवीकरण, सरकारको समीक्षा लगायत विषयमा छलफल हुने महतले जानकारी दिए ।

‘भ्रातृ संस्थाको म्याद थप्ने कि विघटन गरेर जाने भन्ने विषयमा सम्बन्धित संगठनका निर्देशक समितिको प्रतिवेदका आधारमा छलफल हुन्छ’,उनले भने ‘उनिहरूले महाधिवेशनका सन्दर्भमा गरेको तयारीको प्रगति अनुसार अघि बढ्ने कुरा छ । त्यस्तै क्रियाशील सदस्यता, प्रदेश र संघीय सरकारको समिक्षा समेत हुन्छ, मन्त्रीहरूले प्रतिवेदन पेश गर्नुहुन्छ ।’ 

नेकपा एमालेको नेतृत्वमा बनेको वर्तमान सरकारलाई कांग्रेसको मुख्य सहयोग छ । २ दलबीच भएको ७ बुुँदे सहमतिअनुसार सरकार गठन भएको १ वर्ष पुगेपनि सहमतिअनुसार काम नभएको कांग्रेसका नेताहरूले टिप्पणी गर्दै आएका छन् । यो विषयले समेत पार्टी बैठकमा प्रवेश पाउने छ । कांग्रेस संस्थापन इतर समूहका नेताहरूले वर्तमान सरकारको कार्यशैली र मन्त्रीहरूको काम प्रति असन्तुष्ट छन् । 

वरिष्ठ नेता डा. शेखर कोइरालाले सुरुदेखि नै ओली सरकारको कार्यशैलीको तीव्र आलोचना गर्दै आएका छन् भने संस्थापन पक्ष र मन्त्री भएकाहरूले मात्रै सरकारको बचाउ गर्दै आएका छन् ।

संविधान संशोधन, सेवाप्रवाह र सुशासनका सन्दर्भमा नागरिकको विश्वास दिलाउन नसकेकाले पार्टी सत्तामा भएपनि सरकारमा भएको महसुस गर्न नसकिएको नेता कोइरालाको जिकिर छ । सोमबारबाट हुन केन्द्रीय समितिको बैठकमा पार्टीबाट सरकारमा गएका मन्त्रीहरूको प्रगति प्रतिवेदन सुनेर कसरी अघि बढ्ने भन्ने विषयमा संस्थापन इतर समूहका नेताहरूले आन्तरिक छलफलमा छन् ।

महाधिवेशनको जिम्मेवारी दिएर बनाईएका नेविसंघ, तरूण दल, महिला संघसहित भ्रातृ संगठनको पूर्नगठन गरी महाधिवेशन गर्न सक्ने गरी नयाँ समिति बनाउनु पर्ने संस्थापन इतर समूहका नेताहरूको माग छ ।

यही विषयमा पार्टीको बैठक केन्द्रित हुने केन्द्रीय सदस्य प्रतिमा गौमको भनाई छ । भ्रातृ संगठनको महाधिवेशन सहजीकरणका लागि बनाईएका निर्देशक समिति र सम्बन्धित संगठनका अध्यक्षसँगको समन्वयमा महाधिवेशन कार्यतालिका पेश गर्नुपर्ने उनले बताईन । 

‘निर्देशक समितिलाई महाधिवेशनको कार्यसूची माग गरेको छ’,गौतमले भनिन् ‘निर्देशक समितिसँग सहकार्य गरेर सम्बन्धित संगठनका अध्यक्षलाई महाधिवेशन कार्यतालिका पेश गर्न पार्टीले निर्देशन दिएको छ ।

पार्टीको यही बैठकमा पेश गरेको कार्यतालिकाअनुसार महाधिवेशन गर्न नसके स्वतः विघटन हुनेगरी बैठकमा छलफलको एजेण्डा बन्ने छ ।’ 

पार्टीको मेरुदण्डका रूपमा रहेका भ्रातृ संगठनको महाधिवेशन समयमै नहुँदा पार्टीलाई बलियो बनाउन र युवा, विद्यार्थी, महिला, तरूणलाई ऊर्जा थप्न नसकेको र पार्टीमा नवप्रवेशीहरूको आकर्षण समेत घट्दै गएको छ । भ्रातृ संगठनका नेताहरूले समेत अहिलेको नेतृत्व र समितिले महाधिवेशन गर्न सक्ने सम्भावना कम देखिएकाले यसको औचित्यतामाथि प्रश्न उठेको बताउन थालेका छन् ।  

नेपाल तरूण दलका केन्द्रीय सदस्य दिनेश राईले तरूण दलको वर्तमान केन्द्रीय समितिले महाधिवेशन गर्न नसक्ने भन्दै विघटन गर्नु पर्ने संकेत गरे ।  ‘यति लामो समयसम्म महाधिवेशन गराउन नसकेपछि समतिको औचित्य छैन भन्ने धेरै साथीहरूको निष्कर्ष छ’, उनले मध्यान्हसँग भने ‘पार्टी सभापतिलाई समेत सोही अनुसार ब्रिफिङ गरेका छौं । मैले निकै ठूलो आशा भरोसासहित यो समितिलाई साथ दिएको तर, महाधिवेशन गर्ने कुरामा संगठनको नेतृत्व नै नलागेकाले यो समितिबाट आशा टुट्न थालेको छ ।’ 

पार्टीको मूल नेतृत्व भ्रातृ संगठनमा आफू अनुकूल बनाउन सकिन्छ कि सकिँदैन भनेर पर्खेका कारण यो अवस्था आएको नेताहरूका टिप्पणी छ ।  नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल दलित संघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ, आदिवासी जनजाति संघ, तामाङ संघ, ठाकुर समाज, भूतपूर्व सैनिक संघलगायत भ्रातृ संगठनहरूको महाधिवेशन हुन सकेको छैन् ।  

अधिवेशन माग्दै अनशन ! 

पार्टी केन्द्रीय समिति बैठक बस्नु एक दिन अघिदेखि पार्टी कार्यालय सानेपामा तरुण दलका असन्तुष्ट समूहले आमरण अनशन सुरु गरेको छ । विद्वान गुरुङको नेतृत्वमा रहेको तदर्थ समिति भंगको माग गर्दै आइतबारदेखि आमरण अनशन सुरु गरिएको तरूण दलका नेताहरूले बताए ।  यो विषयमा पार्टीले गम्भीर समिक्षा गरेर केन्द्रीय समितिको बैठकले उचित निर्णय लिने पार्टी नेताहरूको आश्वासन छ ।  

केन्द्रीय कार्यालयको मूल गेटमा केन्द्रीय सदस्यहरू रोजन राई र अम्बिका बाँस्कोटाले आमरण अनशन थालेका छन् । असन्तुष्ट पक्षले वर्तमान समिति भंग गर्नका लागि ६ बुँदे कारण देखाएको छ । सबै तहको निर्वाचन सकिएको ३ महिना हुँदै गत चैत मसान्तसम्मको अवधिसम्म महाधिवशेन गर्न नसकेको नेतृत्व नै असक्षम रहेको अम्बिका बाँस्कोटाले बताइन् । 

अध्यक्ष गुरुङले तरुण दलको भवन आफूखुसी भत्काएको, गणेशमान सिंह प्रतिष्ठान भवन निर्माणका लागि छुट्याइएको बजेटको गलत प्रचार गरेको लगायतका कारण समेत देखाइएको छ । तर संस्थापन इतर समुहकै एक केन्द्रीय सदस्य दिनेश राईले अनसन गरेर मात्रै समस्या समाधान नहुने भएकाले वर्तमान समिति नै विघटन गरेर नयाँ समिति बनाउनुपर्ने बताएका छन् । वर्षौंदेखि तदर्थवादको सिकारले ‘कोमा’मा पुगेका भ्रातृ संगठनहरूको महाधिवेशन अझै पनि नेताहरूकै कारणले रोकिँदै आएको कतिपय नेताहरूले बताउँछन् ।

आजको मध्यान्न दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार