उदयपुर । बेलका नगरपालिका–४ मा पहिलोपटक वडाको बजेटबाट सार्वजनिक क्षेत्रको निगरानीका लागि सिसी क्यामेरा जडान गरिएको छ । वडाध्यक्ष तिर्थ अधिकारीका अनुसार वडामा हुने गतिविधि नियाल्न र सुरक्षा व्यवस्थालाई मजबुत बनाउन आठ स्थान पहिचान गरी प्रारम्भिक चरणमा तीनवटा क्यामेरा जडान गरिएको हो ।
विद्यालय क्षेत्र, वडा कार्यालय र लाल बजारमा पहिलो चरणमा क्यामेरा जडान गरिएको अधिकारीले बताए । उनका अनुसार ती क्षेत्रहरूमा आवतजावत बढी हुने, दुर्घटनाको सम्भावना रहने र बस्ती नजिक नभएकाले निगरानी आवश्यक देखिएको थियो ।
“हामीले आठवटा प्वाइन्ट निर्धारण गरेका छौँ । सबै ठाउँमा तार तानेका छौँ । अहिले तीनवटा क्यामेरा जडान भइसकेको छ भने अन्य पाँच स्थानमा चाँडै जडान हुनेछ ।” अधिकारीले भने ।
चालु आर्थिक वर्षमा वडाको तर्फबाट ३ लाख रुपैयाँ बजेट छुट्याइए पनि अपुग भएपछि नगरप्रमुख अशोक कार्कीको अन्य कोषबाट रकम रकमान्तर गरेर काम सम्पन्न गरिएको हो ।
वडाध्यक्ष अधिकारीका अनुसार, अघिल्लो पटक राखिएका क्यामराले राम्रो काम नगरेकाले यसपटक क्षमता राम्रो भएको र रातिमा समेत प्रष्ट देखिने क्यामेरा जडान गरिएको छ । “अब चोरी, लागुऔषध दुव्र्यसनजस्ता गतिविधिमा कमी आउँछ भन्ने विश्वास लिएको छु,” उनले भने ।
इलाका प्रहरी चौकी लाल बजारको निगरानीमा रहने गरी राखिएको क्यामेराको दृश्य वडाध्यक्ष स्वयंले समेत मोबाइलबाट देश–विदेश जहाँ भए पनि हेर्न सक्ने सुविधा रहेको जानकारी दिए । बजेटबाट यति व्यवस्थित ढंगमा सिसी क्यामेरा जडान गर्ने बेलका–४ सम्भवतः पहिलो वडा रहको उनले बताए ।
प्रतिक्रिया