इटहरी : इटहरीका लायन्स क्लबमा आबद्ध तथा क्लबबाहिरका आमाहरूले नि:साहाय बाल आश्रमका बालबालिकालाई घरमै पकाइएको अर्ग्यानिक खाना खुवाएका छन् ।
शनिवार लायन्स क्लब अफ इटहरी ग्रिन सिटी र लियो क्लब अफ इटहरी ग्रिन सिटीको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा ४५ जना बालबालिकालाई खाजा र खाना खुवाइएको थियो।
सहभागी आमाहरूले आआफ्नै घरमा पकाएको परिकार बोकेर बाल आश्रम पुगेका थिए, जहाँ बालबालिकाहरूले घरको स्वादसहित मातृत्वको अनुभूति लिन पाएका छन् ।
कार्यक्रमकी संयोजक तथा लायन्स क्लब अफ इटहरी ग्रिन सिटीकी अध्यक्ष शान्ता कोइराला थापाले नानीबाबुलाई घरमै पकाएको खाना खुवाउँदा उनीहरूले मातृत्वको अनुभूति गरेको बताइन् । 'उनीहरूको अनुहारमा देखिएको खुसीले हामी आमाहरू पनि भावुक भयौँ', उनले थपिन् ।
निःसहाय बाल आश्रमकी सञ्चालक गीता गौतमले घरैमा पकाएर खुवाउने आमाहरूलाई धन्यवाद दिँदै बालबालिकाको हकमा यस्ता प्रयास निरन्तर जारी राख्न आग्रह गरिन्।
आयोजक संस्थाहरूले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रतिक्रिया