सुनसरी : सुनसरी क्षेत्र नं. १ अन्तर्गत पर्ने वराहक्षेत्र नगरपालिका १ मा अवस्थित ऐतिहासिक वराहक्षेत्र मन्दिर सप्तकोशी नदीको कटानले जोखिममा परिरहेको बेला तटबन्ध निर्माण हुने भएको छ ।
गत असोज १२ गते आएको बाढीले मन्दिर आसपासको जमिन कटान गरेपछि तटबन्ध निर्माणको आवश्यकता परेपछि कांग्रेस प्रचार विभाग प्रमुख नेता मीन विश्वकर्माको पहलमा बजेटको सुनिश्चितता भएको हो ।
धार्मिक, ऐतिहासिक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिने वराहक्षेत्र मन्दिर पृथ्वीकै प्राचीन तीर्थस्थल मध्ये एक हो । जसलाई चार प्रमुख धार्मिक क्षेत्रमध्ये एकको रूपमा पनि चिनिन्छ ।
तर, विगतका वर्षहरूमा सप्तकोशी नदीको बाढी र धार परिवर्तनले मन्दिर क्षेत्रलाई प्रत्यक्ष प्रभावमा पारिरहेको छ ।
नेता विश्वकर्माले तटबन्ध निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सहित पेस भएको जानकारी दिएका छन् ।
जसलाई आगामी आर्थिक वर्ष २०८२–८३ को वार्षिक कार्यक्रममार्फत कार्यान्वयन गरिने छ । ‘त्यहाँ हामीले अस्पताल निर्माणको कामदेखि हरेक क्षेत्रमा काम गरेको छु । मन्दिरको कटान रोक्नका लागि पनि छलफल भएर नेतृत्व गरेको हुँ । अब २०८२–८३ को बजेटमार्फत नै तटबन्ध बन्छ ।’ उनले भने ।
नेता विश्वकर्माले योजनामा समावेश गरेकोमा मन्त्री दीपक खड्का एव सचिव सुरेश आचार्यलाई धन्यवाद समेत दिएका छन् ।
प्रतिक्रिया