हिमताल फुटेर भोटेकोशीमा बाढी आएको हुनसक्ने इसिमोडको आशङ्का

मंगलबार, २४ असार २०८२

काठमाडौं : अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले वर्षाका कारण नभई कुनै हिमताल फुटेर रसुवाको भोटेकोशी नदीमा बाढी आएको हुनसक्ने आशङ्का गरेको छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै इसिमोडले हिमताल फुटेको हुनसक्ने बताएको हो । 

आज दिउँसो जल तथा मौसम विज्ञान विभागले पनि नेपाल र चीन आसपासका क्षेत्रमा ठूलो वर्षा नभएकाले हिमताल फुटेर बाढी आएको हुनसक्ने अनुमान रहेको बताएको थियो । 

“रासुवामा सोमबार आएको बाढीको खास कारण पहिचान गर्न अझै समय लाग्नेछ, तर प्रारम्भिक अनुसन्धानबाट उक्त बाढी अत्यधिक वर्षाका कारण आएको थिएन । मौसमी बादलको आवरण हटेपछि मात्रै उपग्रह चित्रमार्फत थप अध्ययन गरेर विस्तृत अनुसन्धान गर्न सकिनेछ”, जारी विज्ञप्तिमा भनिएको छ, “भूगर्भविद्, हिमनदी विशेषज्ञ, जलवायुविज्ञलगायत सहभागी बहुक्षेत्रीय टोलीले बाढीको वास्तविक कारणको अनुसन्धान गर्नुपर्ने आवश्यकता छ ।”

इसिमोडका वरिष्ठ जलविज्ञान अनुसन्धानकर्ता प्रदीपमान डङ्गोलले हिमताल विस्फोट भएको शङ्का गरिएको  बताए । हालसम्म यसको ठोस प्रमाण भने नरहेको उनको भनाइ छ । “इसिमोडको सन् २०२१ को अध्ययनअनुसार तिब्बतस्थित त्रिशूली नदीको माथिल्लो क्षेत्रको एक हिमताल उच्च जोखिमयुक्त श्रेणीमा रहेको थियो । सन् १९९० देखि २०२० सम्म त्रिशूली नदीको जलाधार क्षेत्रमा हिमतालको आकार ३३ प्रतिशत र सङ्ख्या १६ प्रतिशतले बढेको छ । बाढीअघि लिइएका उपग्रह चित्रहरूमा पनि हिमतालहरूको सङ्ख्या बढेको देखिन्छ, तर हाल बादलको कारण उपग्रह विश्लेषणमा अवरोध पुगेको छ ।”

चीनको माथिल्लो क्षेत्रमा हालसालै भारी वर्षा भएको सङ्केत नभएको भन्दै यसले अत्यधिक वर्षा बाढीको प्रमुख कारण नभएको पनि डङ्गोलले बताए । 
 

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।

सम्बन्धित समाचार