चालीस रोपनीमा गोलभेँडा फलाउँछन् पाँचथरका कमल

आइतबार, २९ असार २०८२

पाँचथर : आजभोलि प्रायः जसो युवाहरू आकर्षक रोजगारीका लागि विदेशिन लालायीत हुन्छन् । तर पाँचथरको याङवरक गाउँपालिका–६ रमितेका कमल तिम्सिना विदेश जाने सपना त्यागेर गाउँमै गोलभेँडा फलाइरहेका छन् । गोलभेँडा उत्पादनबाट तिम्सिनाको परिवारले मनग्य आम्दानी पनि गर्दै आएको छ । 

तिम्सिनाको दैनिकी आजभोलि सदाभन्दा केही फरक छ । बारीमा लटरम्म पाकेका गोलभेँडा टिपेर बाटोसम्म पुर्याउन उनको परिवारलाई भ्याइनभ्याइ छ । बीस रोपनी क्षेत्रफलमा लगाइएको गोलभेँडाको एक टिपाइ नसकिँदै अर्को टिपाइको बेला भइसक्छ । 

“आजभोलि सधैँभन्दा धेरै काम गर्नुपर्छ । अरु बेलाचाहिँ काम त गर्नुपर्छ, तर धेरै र गाह्रो काम हुँदैन”, तिम्सिनाले भने, “गाउँघरमा कामले भने कहिल्यै छाड्दैन ।”

तिम्सिना परिवारले याङवरक गाउँपालिका–६ रमिते र हिलिहाङ गाउँपालिका–१ फेदापामा करिब ४० रोपनी क्षेत्रफलमा खेती गर्ने गरेको छ । यो जमिन केही तिम्सिना परिवारको आफ्नै हो भने केही बन्दकीमा लिइएको हो । यहाँ गोलभेँडा, खुर्सानी, सुन्तलालगायत नगदेबाली लगाइएको छ । दुवैतर्फ घर छन्, जहाँ पशुपालन पनि छ । “पाँच जनाको परिवारले सबै काम भ्याउँदै आएका छौँ”, २७ वर्षका कमलले भने, “सब्जीखेती र पशुपालनबाट हुने आम्दानीले हामी सन्तुष्ट छौँ ।”

तिम्सिनाको परिवार ११ वर्षअघि ताप्लेजुङको चाक्सिबोटेबाट बसाइँ सरेर पाँचथर आएको थियो । मेची राजमार्ग नजिकै बसोबास गरेको तिम्सिना परिवारले व्यावसायिक रूपमा गोलभेँडाखेती गर्न थालेको १० वर्ष भयो । एक टिपाइमा तिम्सिना परिवारले २० देखि ६० क्यारेटसम्म गोलभेँडा उत्पादन गर्ने गरेको छ । एक क्यारेटमा औसतमा २३ किलोग्राम गोलभेँडा हुन्छ । एकै बिरुवाबाट तीनदेखि सातपटकसम्म गोलभेँडा टिपाइ हुने गर्छ । 

अहिले व्यवसायीहरूले प्रतिकिलो २० मा गोलभेँडा खरिद गरेर लगिरहेका छन् । तर १० वर्षको अवधिमा गोलभेँडाले कहिले प्रतिकिलो दुई रुपैयाँ ५० पैसा मूल्य पायो त कहिले  ७० सम्म । ती सबै अनुभव यो परिवारसँग छ । “ गोलभेँडालाई रु २० वा सोभन्दा बढी दाम (मूल्य) आयो भने घाटा लाग्दैन”, तिम्सिनाले भने, “ ३० भन्दा बढी मूल्यमा बिकेको समयमा राम्रो आम्दानी र बचत हुन्छ ।”

गोलभेँडाको मूल्य बजारमा कहिलेमाथि हुन्छ भने कहिले निकै कम । तर कहिल्यै हिम्मत नहारी तिम्सिना परिवारले खेती गरिरहेको छ । “मूल्य कम भए पनि हामीलाई ठीकै छ गोलभेँडाबाट, हामी सन्तुष्ट छौँ”, कमलले भने । यस वर्ष तिम्सिना परिवारले आठ हजार खुर्सानी र छ हजार गोलभेँडाका बिरुवा लगाएको छ । खर्च कटाएर वार्षिक रु दुई लाखभन्दा बढी आम्दानी भइरहेको कमल सुनाउँछन् । 

यहाँ गोलभेँडा फागनु, चैत र भदौमा गरी दुईपटक लगाउने गरिएको छ । गोलभेँडामा सामान्य विषादी लगाउने गरिएको कृषक बताउँछन् । रोग कीराको अत्यधिक समस्या हुने भएकाले विषादी प्रयोग गर्ने गरिएको उनीहरूको भनाइ छ । 

उत्पादन भएको कृषि उपज सस्तो मूल्यमा भए पनि बिक्री भने भइरहेको छ । यहाँ गोलभेँडा, खुर्सानीलगायत कृषि उपज उत्पादन गर्ने किसानहरूले प्रायः एकै व्यवसायीलाई आफ्ना उत्पादन बिक्री गर्ने गर्छन् । जसकारण कम मूल्य भए पनि उत्पादित सामग्री उठ्ने गरेको छ । 

हुन त कमलले विदेश जाने कुरा नसोच्नुभएको भने होइन । तर आकर्षक रोजगारीमा जान लगानी धेरै लाग्ने भएपछि कमलको मन गाउँमै अडियो । “विदेश जानचाहिँ खोजेको हुँ । तर पछि मन लागेन । लगानी धेरै लाग्छ भनेपछि गाउँमै खेती गर्छु भनेर यतै बसेँ”, कमलले भने, “गाउँमा पनि आम्दानी ठिकै थियो, परिवारसँगै बसेर केही आम्दानी हुँदैछ भने किन विदेश जाने भन्ने लाग्यो ।”

हुन त यो क्षेत्रका सबैले सब्जी खेती गर्दछन् । प्रत्येक घरले दुईदेखि तीन पिकअप गोलभेँडा उत्पादन गर्ने गरेको कमलका छिमेकी दिलबहादुर राईको भनाइ छ । किसानले राम्रो उत्पादन गरे पनि कृषि उपजले मूल्य नपाउँदा बेलाबखत आफूहरू निराश हुने गरेको राईको भनाइ छ । 
 

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।

सम्बन्धित समाचार