हत्या गरेर फरार मोरङ पथरीशनिश्चरेका दोर्जे ६ वर्षपछि ललितपुरबाट पक्राउ

बुधबार, ३२ असार २०८२

विराटनगर : मोरङको पथरीशनिश्चरेमा व्यक्तिको हत्या गरेर फरार भएका अभियुक्त दोर्जे भनिने मेन दोर्जे तामाङ ६ वर्षपछि ललितपुरबाट पक्राउ परेका छन् । 

२७ वर्षीय तामाङलाई मङ्गलवार ललितपुर महानगरपालिका–२२ बुङ्गमतीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पथरीशनिश्चरे नगरपालिका–१० स्थायी ठेगाना भएका २७ वर्षीय तामाङमाथि २०७६ साल चैत ९ गते दीपक लिम्बूको हत्या गरेको अभियोग छ । 

दीपकको हत्यापछि फरार रहेका उनलाई लामो अनुसन्धान र विशेष सुराकीको भरमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालले जानकारी दिए । तामाङले फरार रहँदै ठेगाना परिवर्तन गरेर ललितपुरमा लुकिछिपी बस्दै आएको खुलेको छ । 

पछिल्लो समय आफ्नी दिदी अनु तामाङको घर बुङ्गमतीमा बस्ने गरेको सूचनाका आधारमा प्रहरी प्रभाग भैँसेपाटीबाट खटिएको इन्स्पेक्टर शशिधर शर्माको नेतृत्वको टोलीले उनलाई मङ्गलवार पक्राउ गरेको हो । प्रहरीका अनुसार तामाङविरुद्ध २०७७ साल वैशाख ३ गते मानबहादुर लिम्बूको जाहेरीका आधारमा पक्राउ पुर्जी जारी गरिएको थियो । 

तर, उनी फरार रहेकाले मोरङ जिल्ला अदालतमा चलिरहेको कर्तव्य ज्यानसम्बन्धी मुद्दा मुलतबीमा राखिएको थियो । पक्राउ परेपछि तामाङलाई बुधवार मोरङ ल्याएर जिल्ला अदालतमा उपस्थित गराइएको छ । अदालतले मुलतबी जगाएर मुद्दाको थप प्रक्रिया अघि बढाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार