नेपाल युवा उद्यमी मञ्चको २१ औं साधारणसभा सम्पन्न, सुदिप घिमिरे अध्यक्ष चयन

शनिबार, ०३ साउन २०८२

काठमाडौं । नेपाल युवा उद्यमी मञ्च (NYEF) ले आर्थिक वर्ष २०८२/८३ का लागि नयाँ कार्यकारिणी समिति गठन गर्दै सुदिप घिमिरेलाई राष्ट्रिय अध्यक्षमा चयन गरेको छ ।

उक्त घोषणा मञ्चको २१ औं वार्षिक साधारणसभाको अवसरमा श्रावण २ गते (जुलाई १८, २०२५) शुक्रवार, काठमाडौंस्थित मर्क्युर होटलमा आयोजित कार्यक्रममा गरिएको हो ।

यस वर्ष “RESONATE” भन्ने विषयवस्तुलाई आत्मसात गर्दै मञ्चले नेपाली युवा उद्यमशीलता क्षेत्रमा नवीनता, समावेशिता र प्रभावकारिता लाई प्राथमिकताका रूपमा अघि सारेको स्पष्ट दृष्टिकोण प्रस्तुत गरेको छ ।

मञ्चले यो वर्ष नेपाली युवा उद्यमीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा जोड्ने उद्देश्यसहित छिमेकी मुलुकहरूका युवा उद्यमीहरूसँग रणनीतिक साझेदारी विस्तार गर्ने लक्ष्य राखेको छ ।

साथै, देशभित्रका कलेज, विद्यालय र युवा समुदायहरूसँग सहकार्य गर्दै प्रारम्भिक चरणमै नेतृत्व, उद्यमशीलता र परामर्शको प्रवर्द्धन गर्ने योजना पनि सार्वजनिक गरेको छ ।

त्यसैगरी, युवाद्वारा सञ्चालित व्यवसायहरूले भोगिरहेका चुनौतीहरूको पहिचान गर्दै सम्बन्धित निकायहरूसँग सहकार्य गरेर नीतिगत वकालत गर्नेमात्र नभई व्यवसायमैत्री वातावरण सिर्जना गर्ने पनि मञ्चको प्रतिवद्धता रहेको छ ।

कार्यक्रमको औपचारिक उद्घाटन सभामुख देवराज घिमिरेले गरेका थिए । कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तित्वहरू, उद्योग व्यवसाय क्षेत्रका अग्रणीहरू तथा साझेदार संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो ।

साधारणसभाले अध्यक्षमा सुदिप घिमिरे, प्रथम उपाध्यक्ष आभूषण ज्योति कंसाकार, द्वितीय उपाध्यक्ष श्रीमती निविता प्रधान र महिला उपाध्यक्षमा श्रीमती ऋचा श्रेष्ठ चयन भएका छन् ।

कार्यसमिति सदस्यहरूमा कृष्ण सापकोटा, पवित्र वहादुर गौतम, सुश्री विलाशा श्रेष्ठ, युनेशराज श्रेष्ठ, सुविन श्रेष्ठ र अभिमन्यु गोल्छा रहेका छन् ।

कार्यक्रममा मञ्चले विगतका उपलव्धिहरूको समिक्षा गर्दै आगामी वर्षका योजनाहरूको खाका पनि सार्वजनिक गरेको छ । नव निर्वाचित अध्यक्ष घिमिरेले नवप्रवर्तन, समावेशिता र प्रभावमा केन्द्रित आफ्नो रणनीतिक दृष्टिकोण प्रस्तुत गर्दै, मञ्चको उद्देश्य र मूल्यहरूलाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सम्पूर्ण कार्यसमिति सदस्यहरूले पनि आफ्नो भूमिका निर्वाह गर्दै मञ्चलाई नयाँ उचाइमा पुऱ्याउने अठोट दोहोऱ्याए । अध्यक्ष घिमिरे SG Group मा एक दशकभन्दा बढी समयदेखि कार्यकारी निर्देशकको रूपमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् ।

ऊर्जा, उत्पादन, व्यापार र वित्त क्षेत्रहरूमा क्रियाशील SG Group एक स्थापित व्यवसायिक समूह हो। उनको NYEF संगको यात्रा २०१९ मा नेपाल युवा उद्यमी मञ्च सुनसरीका संस्थापक अध्यक्षको रूपमा सुरु भएको हो।

सन् २०२० देखि राष्ट्रिय कार्यकारिणी परिषद्मा कार्यसमिति सदस्यका रूपमा रहँदै उनले मञ्चको रणनीतिक विकास तथा प्रमुख पहलहरूमा उल्लेखनीय योगदान आएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार