ढाका : बङ्गलादेशको राजधानी ढाकामा सोमबार एउटा लडाकु विमान विद्यालय परिसरमा खस्दा कम्तीमा २० जनाको मृत्यु भएको छ। मृतकहरूमध्ये धेरैजसो विद्यार्थी रहेका छन्। यो विगत केही दशकयताकै सबैभन्दा गम्भीर विमान दुर्घटना मानिएको छ।
चिनियाँ निर्मित एफ–७ बीजेआई लडाकु विमान दिउँसो १स्०६ बजे प्रशिक्षणका लागि उडेको केही समयमै ढाकास्थित मिलस्टोन स्कुल एन्ड कलेजको क्याम्पसमा दुर्घटनाग्रस्त भएको थियो।
दुर्घटनामा १०० भन्दा बढी व्यक्ति घाइते भएका छन्, जसमध्ये ८३ जना विभिन्न अस्पतालहरूमा उपचाररत छन्। घटनास्थलमा तत्कालै उद्धार कार्य सुरु गरिएको थियो। आगलागी नियन्त्रणमा लिन सुरक्षाकर्मी तथा दमकलकर्मीहरूले अथक प्रयास गरेका थिए।
एकजना विद्यार्थी शफिउर रहमान शफीले घटनास्थलको भयावह अवस्था वर्णन गर्दै भने, "हामी खेलमैदानमा थियौँ। अचानक ठूलो आवाज आयो, जमिन काँप्यो, अनि विमान खसेको थाहा पाइयो। त्यसपछि आगो लाग्यो र केही बेरमै सेना आइपुगे।"
बङ्गलादेश सरकारले मङ्गलबारलाई राष्ट्रिय शोक दिवस घोषणा गरेको छ। घाइतेहरूको उपचार भइरहेको छ भने मृतक विद्यार्थीका परिवारहरू गहिरो शोकमा छन्। अभिभावकहरूले अस्पताल पुगेर आफ्ना बालबालिकाको पहिचान गर्ने प्रयास गरिरहेका छन्।
अन्तरिम प्रधानमन्त्री मुहम्मद युनुसले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै एक सन्देशमा लेखेका छन्, "वायुसेना, विद्यार्थी, शिक्षक, अभिभावक र मिलस्टोन स्कुलका कर्मचारीहरूमाथि परेको यो क्षति अपूरणीय छ। यो सम्पूर्ण राष्ट्रका लागि अत्यन्त पीडादायक क्षण हो।"
बङ्गलादेशमा यसअघिको सबैभन्दा ठूलो विमान दुर्घटना सन् १९८४ मा भएको थियो, जसमा ४९ जनाको ज्यान गएको थियो।
प्रतिक्रिया