जनकपुर : खडेरीको मारमा परेको मधेश प्रदेशमा खानेपानी संकट समाधानका लागि प्रदेश सरकारको ऊर्जा, सिचाइ तथा खानेपानी मन्त्रालयले डिप बोरिङ्ग जडान कार्य प्रारम्भ गरेको छ। धनुषाको मिथिलाबिहारी नगरपालिका–२ परशुराम ताल क्षेत्रबाट पहिलो चरणको बोरिङ्ग कार्य सुरु गरिएको हो।
साउने सोमबारी मेलामा मन्दिर क्षेत्रमा आउने श्रद्धालुहरूलाई खानेपानी अभाव नहोस् भनेर मन्त्रालयले तत्काल डिप बोरिङ्ग जडान थालेको जनाएको छ। बोरिङ्ग कार्यको शुभारम्भ बिहीबार एक विशेष समारोहबीच ऊर्जा, सिचाइ तथा खानेपानी मन्त्री शेष नारायण यादवको प्रमुख आतिथ्यमा तथा मन्दिरका पुजारी राधामोहन दासको विधिपूर्वक पूजा पछि गरिएको हो।
कार्यक्रममा सहभागी स्थानीय बासिन्दाहरूले आफ्नो वडामा पनि डिप बोरिङ्ग जडान गर्न आग्रह गरेका थिए। उनीहरूले सिचाइ र खानेपानी दुबैमा खडेरीले गम्भीर समस्या उत्पन्न गराएको गुनासो गरे।
मन्त्री यादवले स्थानीयको पीडा सुन्दै प्रदेश सरकारले उपलब्ध सीमित स्रोत र साधनका आधारमा प्राथमिकता निर्धारण गरी प्रत्येक वडामा चरणबद्ध रूपमा डिप बोरिङ्ग जडान कार्य अगाडि बढाउने जानकारी दिए। “खडेरीले सिचाइ मात्र होइन, खानेपानीमा समेत असर गरेको छ, त्यसैले प्राथमिकतामा अहिले खानेपानी छ,” मन्त्री यादवले बताए।
गम्भीर खडेरीका कारण मधेश प्रदेशलाई प्रदेश सरकारले ‘सुख्खा क्षेत्र’ घोषणा गरिसकेको छ। संघीय सरकारले समेत तीन महिनाका लागि ‘संकटग्रस्त क्षेत्र’ घोषणा गरे पनि हालसम्म कुनै विशेष राहत प्याकेज नआएको मन्त्री यादवको भनाइ छ।
प्रदेश सरकारले हाललाई प्रत्येक वडामा कम्तीमा एक डिप बोरिङ्ग जडान गर्ने लक्ष्यसहित कार्य अगाडि बढाएको जनाइएको छ।
प्रतिक्रिया