मस्को : रुसको सुदूर पूर्वी क्षेत्रमा यात्रुवाहक विमान दुर्घटना हुँदा विमानमा सवार सबै यात्रु र चालक दलका सदस्यको मृत्यु भएको छ। अङ्गारा एयरलाइन्सको ट्विन प्रोपेलर एन्टोनोभ–२४ विमान बिहीबार दिउँसो दुर्घटना भएको हो।
विमान ब्लागोभेश्चेन्स्कबाट टिन्डा गन्तव्यतर्फ जाँदै गर्दा दिउँसो १ बजे राडार सम्पर्क विच्छेद भएको थियो। त्यसपछि केही घण्टापछि टिन्डाबाट करिब १५ किलोमिटर टाढा जङ्गली पहाडी क्षेत्रमा विमानको जलेको भग्नावशेष फेला परेको रुसी सञ्चारमाध्यमहरूले जनाएका छन्।
दुर्घटनास्थलमा जीवित कोही भेटिएको छैन। भिडियो फुटेजमा जङ्गलभरि विमानका टुक्रा छरिएको र बाक्लो धुवाँ उडिरहेको देखिन्छ।
एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत सेर्गेई सलामनोभले उडानको समयमा मौसम प्रतिकूल रहेको पुष्टि गरेका छन्। उनका अनुसार क्याप्टेनले जोखिमका बाबजुद उडानको निर्णय लिएका थिए। दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको छ।
दुर्घटनाग्रस्त विमानमा कम्तीमा एक जना चिनियाँ नागरिक पनि सवार रहेको बताइएको छ। रुसको नागरिक उड्डयन प्राधिकरणले यस घटनालाई गम्भीर रूपमा लिँदै दुर्घटनाको विस्तृत विवरण आउन अझ केही समय लाग्ने जनाएको छ।
प्रतिक्रिया