झापा : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले धार्मिककार्यमा प्रयोग हुने सामग्रीको स्वदेशी उत्पादनले आत्मनिर्भर अर्थतन्त्रमा टेवा पुग्ने बताएका छन् ।
कमल गाउँपालिका–६ स्थित दिव्यदृष्टि भेनेरेसन एण्ड एग्रो कन्सर्न प्रालिको आज निरीक्षण गर्दै उनले उक्त धारणा व्यक्त गरेका हुन् । स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगको विकासले आयात प्रतिस्थापन र रोजगारीमा योगदान पुर्याउने बताए ।
“आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि धार्मिक उत्पादनमूलक उद्योगले ठूलो टेवा पुर्याउन सक्छ”, उनले भने, “यसमा प्रदेश सरकारले सहकार्यको हात अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु ।” सो अवसरमा दिव्यदृष्टि ब्राण्डका विभिन्न प्रकारका पूजा सामग्री उद्योगमा उत्पादन हुँदै आएको प्रालिका अध्यक्ष विष्णुप्रसाद पोखरेलले मुख्यमन्त्री कार्कीलाई अवगत गराएका थिए ।
उद्योगकी कार्यकारी प्रमुख तथा सञ्चालक बबिता तिम्सिनाले सो अवसरमा उद्योगको स्थापना, उत्पादन प्रक्रिया र व्यावसायिक विस्तारबारे जानकारी गराइन् ।
प्रतिक्रिया