विराटनगर : कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले चालु आर्थिक वर्षमा ४ अर्ब रुपैयाँभन्दा बढी बेरुजु फछ्यौट गरेको छ । मन्त्रालयले एक वर्षको अवधिमा ४ अर्ब १ करोड ४४ लाख ३३ हजार ४ सय ७७ रुपैयाँ बराबरको बेरुजु फछ्यौट गर्न सफल भएको हो ।
शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले मन्त्रालयमा जम्मा ५ अर्ब ९५ करोड ४९ लाख रुपैयाँ बेरुजु रहेकोमा हालसम्म ६७.४१ प्रतिशत बेरुजु फछ्यौट भइसकेको जानकारी दिए ।
फछ्यौट गरिएको रकममध्ये असुल गर्नुपर्ने बेरुजु १० करोड ९८ लाख ७८ हजार ३ सय १६ रुपैयाँ, पेस्की बेरुजु ३ अर्ब ६ करोड १५ लाख ४० हजार १ सय २० रुपैयाँ र नियमित गर्नुपर्ने १ अर्ब १ करोड ९ लाख रुपैयाँ रहेको उनले स्पष्ट पारे ।
मन्त्री राईका अनुसार भौतिक पूर्वाधारको निर्माणमा समेत उल्लेखनीय प्रगति भएको छ ।
गत आर्थिक वर्षमा ११३.८९ किलोमिटर सडक कालोपत्र, १७५.४९ किलोमिटर ग्राभेल र १६.७१ किलोमिटर आरसीसी–पीसीसी ढलान गरिएको छ । साथै ४७.९६ किलोमिटर नयाँ ट्रयाकसमेत खोलिएको छ ।
यसै अवधिमा प्रदेशमा १८ वटा सडक पुल र १६ वटा झोलुंगे पुल निर्माण सम्पन्न भएको छ । ११ वटा बहुवर्षीय आयोजनाअन्तर्गत ११५.८९ किलोमिटर सडक थप निर्माण गरिएको छ ।
आवास कार्यक्रमअन्तर्गत प्रदेश स्रोतबाट २ सय ८४ विपन्न नागरिकको घर निर्माण गरिएको छ भने संघीय सशर्त अनुदानमार्फत २ सय ५४ घर निर्माण गरिएको छ ।
भौतिक पूर्वाधार निर्माणतर्फ मन्त्रालयले १३ वटा सरकारी भवन, ६९ वटा सामुदायिक भवन, ११ वटा सभा हल, ४० विद्यालय पूर्वाधार, २५ धार्मिक पूर्वाधार, ११ वटा कभर्ड हल र १० वटा खेल मैदान निर्माण गरेको मन्त्री राईले जानकारी दिए ।
उनले चालु आर्थिक वर्षका स्रोत सुनिश्चित आयोजनाहरूको ठेक्का प्रक्रिया पहिलो त्रैमासभित्रै सम्पन्न गरिने प्रतिबद्धता जनाए ।
प्रतिक्रिया