काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेपाल र भारतबिच ‘सुपुर्दगी सन्धि’ हुन लागेको भन्दै त्यस बेला चीन र भारतसँग सन्तुलन कायम गर्न नसके नेपालको राष्ट्रियतामाथि गम्भीर हमला हुने चेतावनी दिएका छन्।
शनिवार काठमाडौँमा आयोजित पुष्पलाल जन्म शताब्दी तथा ४७औँ स्मृति दिवसका सन्दर्भमा आयोजित निर्वासन लोकार्पण समारोहमा बोल्दै उनले भने,‘‘अहिले मैले सुनिरहेको छु, नेपाल र भारतबिच सुपुर्दगी सन्धि हुँदैछ । त्यो सन्धि हुँदा नेपालले भारत र चीनसँग सन्तुलन मिलाउन सकेन भने नेपालको राष्ट्रियतामाथि अर्को हमला हुनेवाला छ।’’
खनालले नेपालले सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्न नसकेको खण्डमा विदेशी हस्तक्षेप बढ्ने भन्दै राष्ट्रिय हितमा गम्भीर क्षति हुने बताए।
त्यस्तै, खनालले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठलाई स्मरण गर्दै उनी श्रमिक वर्गका पक्षमा जनतालाई प्रशिक्षित गर्ने पहिलो व्यक्ति रहेको बताए। उनले पुष्पलालले बनाएको पार्टी एउटै भए पनि अहिले २४–२५ वटा कम्युनिष्ट पार्टी बन्नुको कारण नीति र सिद्धान्तको विचलन भएको टिप्पणी गरे।
खनालले भने, ‘‘कम्युनिष्ट पार्टी एउटै हुन्छ, पुष्पलालले बनाएको पनि एउटै हो । अहिले यत्रा धेरै पार्टी किन छन् भनेर सोच्न जरुरी छ । हाम्रो देशमा नीति र सिद्धान्त दायाँबायाँ गरिएका कारण यति धेरै पार्टी प्रकट भएका हुन्।’’
प्रतिक्रिया