काठमाडौं : मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज (राजेश झा)लाई बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने अदालतले आदेश दिएको छ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश पिताम्बर शर्माको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो। अदालतको आदेशपछि उनलाई डिल्लीबजार कारागार चलान गरिएको छ।
पूर्वप्रमुख अहिराजविरुद्ध एक महिलाले बलात्कारको आरोपमा उजुरी दिएकी थिइन्। पीडितले दिएको जाहेरीका आधारमा उनलाई साउन ४ गते पक्राउ गरिएको थियो। पक्राउपछि ९ दिनसम्मको अनुसन्धानपछि सरकारी वकिलको कार्यालय काठमाडौंले उनीविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।
अभियोग अनुसार, २०८१ साल जेठ ४ गते काठमाडौंको नयाँ बानेश्वरस्थित आफ्नै डेरामा अहिराजले ती महिलामाथि बलात्कार गरेका थिए।
अहिराजले भने आफू निर्दोष रहेको दाबी गर्दै ती महिलाविरुद्ध झुठा आरोप लगाएको भन्दै प्रतिआरोपस्वरूप मुद्दा दायर गरेका छन्।
प्रतिक्रिया