खानेपानी सङ्कट समाधानतर्फ वीरगन्ज महानगर : अमलेखगन्जमा पानी स्रोतको खोजी

शुक्रबार, १६ साउन २०८२

वीरगन्ज (पर्सा) : वीरगन्ज महानगरपालिकाले दीर्घकालीन खानेपानी समाधानका लागि नयाँ स्रोतको खोजी थालेको छ। राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति र महानगरको प्राविधिक टोलीले बाराको अमलेखगन्जस्थित भावर क्षेत्रमा स्थलगत निरीक्षण गरी त्यहाँको सफल अभ्यास वीरगन्जमा लागू गर्ने योजना अघि सारेका छन्।

महानगर प्रमुख राजेशमान सिंह र समिति अध्यक्ष डा. किरण पौडेलसहितको टोलीले अमलेखगन्ज कर्मकुमारी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको पहलमा संरक्षण गरिएको पानीको स्रोतको निरीक्षण गरेको हो।

वीरगन्ज क्षेत्रमा भूमिगत पानीको सतह घटेसँगै चापाकलहरू सुकेका छन्। यस पृष्ठभूमिमा अमलेखगन्जको प्रविधि र अभ्यास अवलम्बन गर्दै वीरगन्जमा पनि पानीको सतह पुनः भरण गर्ने सम्भाव्यता अध्ययन थालिएको छ।

प्रमुख सिंहले भने, “अमलेखगन्जमा भावर क्षेत्रको भूसतहमा संरक्षण गरिएको पानीबाट दैनिक २४ लाख लिटर वितरण भइरहेको छ भन्ने थाहा पाएपछि हामी यहाँको अभ्यास अवलम्बन गर्न आएका हौँ।”

उनले वीरगन्जमा पनि खेर गइरहेको वर्षे पानी सङ्कलन गरी पोखरी र अन्य संरचना निर्माणमार्फत जमिनमुनिको पानी सतह बढाउने योजना रहेको बताए।

इन्जिनियर अनिल सिन्हाले अमलेखगन्जको अभ्यासलाई ‘नमुना’ बताउँदै पर्साको भेडाहा खोलाको भावर क्षेत्रको संरक्षणले वीरगन्जको पानी सङ्कट हल गर्न सकिने धारणा व्यक्त गरे। “पानी संरक्षणका लागि पोखरी, जलाशय जस्ता संरचना आवश्यक छन्,” उनले भने।

कर्मकुमारी खानेपानी समितिका अध्यक्ष नारायण लामिछाने मगरका अनुसार अमलेखगन्जमा पानीको स्रोत संरक्षण गरी हाल ८२७ घरधुरीलाई नियमित पानी आपूर्ति भइरहेको छ। पहिले चरम पानी सङ्कट झेलिरहेको क्षेत्र अहिले आत्मनिर्भर बनेको उनले बताए।

राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति अध्यक्ष पौडेलले वीरगन्ज वरपरका क्षेत्रमा पानीका पोखरी तथा अन्य संरचना निर्माण गरेर भूमिगत पानीको भूसतह बढाउन सकिने बताए। निरीक्षणमा सहभागी ग्रिन सिटी सामुदायिक सेवा केन्द्र अध्यक्ष जयप्रकाश खेतानले वीरगन्जको पानी अभाव हटाउन वैकल्पिक स्रोतहरूको खोजी भइरहेको र यो निरीक्षण त्यसैको अंश भएको बताए।

पानी पुनः भरणमार्फत पानी सङ्कट समाधान गर्न वीरगन्ज महानगरको यो पहललाई दीर्घकालीन र वैज्ञानिक समाधानको रूपमा हेरिएको छ। प्राविधिक अध्ययनपछि योजनालाई कार्यान्वयनमा लैजाने तयारी महानगरले गरेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार