काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधवकुमार नेपालले दिएको अभिव्यक्तिको तीव्र प्रतिवाद गरेका छन्।
अध्यक्ष नेपालले ‘पार्टी छाड्न’ सार्वजनिक सुझाव दिएपछि खनालले ती भनाइलाई ‘पेटी बुर्जुवा चिन्तन’ र ‘तल्लो स्तरको अभिव्यक्ति’ भनेर आलोचना गरेका हुन्।
शनिवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नेता खनालले अध्यक्ष नेपालको भनाइ पार्टीभित्रको वैचारिक मतभेदलाई व्यक्तिगत झगडामा बदल्ने प्रयास भएको बताए।
‘पार्टीमा बस्ने नैतिक अधिकार गुमाएको भन्दै राजीनामा दिनू भन्ने आदेश दिनु भन्नु नै सानो चित्त र अलोकतान्त्रिक चरित्रको परिचायक हो,’ खनालको टिप्पणी थियो।
खनालले आफू र नेपालबिचको विवाद व्यक्तिगत नभई वैचारिक र सैद्धान्तिक भएको जिकिर गरे। उनले एमालेबाट अलग्गिएर एकीकृत समाजवादी गठन गरेपछि चार वर्ष बित्दासमेत विद्रोहको औचित्य स्थापित हुन नसकेको बताए।
‘क्रान्तिकारी पार्टी बनाउने भनेर विद्रोह गर्यौँ, तर आज नेतृत्वले दक्षिणपन्थी अवसरवाद के हो भन्ने स्पष्टीकरणसम्म दिन सकेको छैन,’ खनालले भने, ‘कार्यकर्तामा निराशा छ, यही कुरा उठाउँदा मलाई पार्टी छाड्न आदेश दिने?’
अध्यक्ष नेपाल अझै ‘बहुदलीय जनवाद’मा अल्झिएको र महाधिवेशनबाट पारित दस्ताबेजलाई समेत तोडमोड गरेर प्रकाशित गरिएको आरोप खनालको छ।
उनले नेतृत्वमाथि गम्भीर वैचारिक विचलन र निर्णय प्रक्रिया अपारदर्शी भएको आरोप लगाए। ‘पार्टीभित्र छलफल माग्दा सुनुवाइ हुँदैन, मिडियामार्फत आदेश आउँछ। यो कम्युनिस्ट पद्धति होइन,’ खनालको भनाइ थियो।
खनालले एमाले विभाजन गलत भएको निष्कर्षमा आफू पुगेको र एकीकृत समाजवादी गठनको औचित्य सिद्ध गर्न नसकेको टिप्पणी गरेपछि अध्यक्ष नेपाल आक्रोशित भएका थिए।
प्रतिक्रिया